कोरोना सङ्क्रमणका कारण तीन जनाको मृत्यु

चितवनः जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा ८४ वर्षीया महिला र ७० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ । राप्ती नगरपालिका वडा नं. ५ निवासी ८४ बर्षीया महिलाको उपचारका क्रममा आज विहान ४ः१९ बजे मृत्यु भएको हो । कार्तिक ५ गते स्वासप्रश्वास र उच्च ज्वरोको समस्या भई अस्पताल भर्ना भएकी उनमा ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप, बाथ रोग र निमोनियाको समेत समस्या रहेकी उनलाई सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

सोही कलेजमा उपचाररत ७० बर्षीय सङ्क्रमित पुरुषको आज विहान ८ः४४ बजे मृत्यु भएको छ । चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार भरतपुर महानगरपालिका वडा नं. ७ निवासी पुरुषको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । कार्तिक २ गते स्वासप्रश्वास र मृगौलाको समस्या भई अस्पतालमा भर्ना भएका उनको सोही दिन कोरोना पुष्टि भएको थियो । उनी मृगौला र उच्च रक्तचापको समेत विरामी थिए ।

यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका ७ का ५७ वर्षिय पुरुषको विहीवार राती मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । कात्तिक ६ गते सङ्क्रमण सहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनमा असोज २६ गते कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेशनमा बसेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि उपचारका सबै उपायहरु गर्दा गर्दै मृत्यु भएको पौडेलले जानकारी दिनुभयो ।