चितवनः चितवन मेडिकल कलेज भरतपुरमा पहिलो पटक कृत्रिम गर्भाधान विधिबाट बच्चा जन्माईएको छ । विगत १५ वर्षदेखि सन्तान हुन नसकेको भरतपुरको एक जोडीको कृतिम गर्भाधान विधिबाट आज छोराको जन्म दिएका हुन ।

अस्पतालका प्रसुती विभागका डा. रेनुका ताम्राकारका अनुसार गत वर्षको माघमा कृत्रिम गर्भाधान गराईएकोमा आज शल्यक्रिया मार्फत् बच्चा जन्माईएको हो । विगत १५ वर्षदेखि सन्तान हुन नसकेको जोडीको कृत्रिम गर्भाधान विधिबाट सन्तान प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त जोडीको एक पटक प्राकृतिक रुपमा गर्भ रहेको भए पनि उक्त गर्भ सफल हुन सकेको थिएन । त्यसपछि लामो समय सन्तान हुन नसकेपछि कृत्रिम गर्भाधान गराईएको हो । शल्यक्रियाबाट बच्चा जन्माईएको भए पनि आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको उहाँले जानकारी दिनुभयो ।

डा. ताम्राकारले जिल्लामा पहिलो पटक कृत्रिम गर्भाधान विधिबाट चितवन मेडिकल कलेजमा बच्चा जन्माईएको दावी गर्नुभयो । उक्त कलेजमा अन्य जोडीहरुको पनि कृत्रिम गर्भाधान गराईएको उहाँले जानकारी दिनुभयो । उहाँले पहिलो प्रयासमा नै कृत्रिम गर्भाधान सफल भएको बताउनुभयो । बच्चाको बाबु आमाको चाहना अनुसार नाम गोप्य राखिएको छ ।

प्रसुती, रेडियोलोजी, एनेस्थेसिया, रेडियो डाईग्नोसिस र नर्सिङ विभागको समन्वय र अस्पतालका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपाने, डा.आसुदीप शर्मा, प्रा.डा.गणेश दंगालको निरन्तरको मार्गनिर्देशनमा सफलता मिलेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !