एकै दिन तीन सङ्क्रमितको मृत्यु

चितवनः जिल्लामा रहेका बिभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत दुई जना र चितवन मेडीकल कलेजमा उपचाररत एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा आज मृत्यु भएको हो ।

मृतक मध्ये दुई जना चितवनका र एक जना रौतहटका रहेका छन् । भरतपुर अस्पतालमा उपचाररत रौतहटको माधवनारायण वडा नम्बर ७ की ७० वर्षीया महिलाको आज विहान ९ः२५ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । असोज २९ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई ती महिला आइसोलेसनमा भर्ना भएकी थिइन् । असोज २८ गते सङ्क्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी थिइन् ।

यस्तै आजै विहान भरतपुर अस्पतालमा एक जना जनप्रतिनिधिको निधन भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य कोरोना सङ्क्रमित ४१ वर्षीय बद्रीबहादुर पाण्डेको निधन भएको हो । असोज ३० गते खोकी र श्वासप्रश्वासमा समस्या भई उहाँ अस्पताल भर्ना हुनु भएको थियो । उहाँमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उहाँको विहान १ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँ नेपाली काँग्रेसबाट स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यसैगरी चितवन मेडिकल कलेज भरतपुरमा खैरहनी नगरपालिका वडा नम्बर ६ की ६८ वर्षीया सङ्क्रमित महिलाको पनि आज विहान मृत्यु भएको छ । कोभिड सघन उपचार कक्षमा उपचाररत ती महिलाको विहान मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो ।

असोज २४ गते ज्वरो, खोकी र निमोनिया भई ती महिला अस्पताल भर्ना भएकी थिइन् । उनमा २७ गते कोरोना पुष्टि भएको थियो ।