
चितवनः दिनहुँ कोरोना संक्रमित बढिरहेको समयमा जिल्लामा स्क्रबटाईफस र डेंगुको संक्रमित पनि बढिरहेको तथ्यांकले देखाएको छ । साउन १ गतेदेखि हालसम्म १३९ जनामा स्क्रबटाईफस र ३१ जनामा डेंगु संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार यो अवधिमा भरतपुर अस्पतालमा उपचार गराएका ३९ महिला र २९ पुरुष गरी ६८ जना, चितवन मेडिकल कलेजमा ३९ महिला र २३ पुरुष गरी ६२ जना र कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी मनकामना अस्पतालमा उपचार गराएका १ जना पुरुष, नारायणी सामुदायिक र नेशनल सिटी अस्पतालमा एक÷एक जना महिलामा संक्रमण पुष्टि भएको कार्यालयका किट नियन्त्रण निरीक्षक गीता आचार्यले जानकारी दिनुभयो ।
यस्तै भरतपुर अस्पतालमा उपचार गराएका ७ जना महिला र २० जना पुरुषमा डेंगु संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा दुई जना पुरुष र नेशनल सिटी अस्पतालमा २ जना महिलामा पनि यही अवधिमा डेंगु संक्रमण पुष्टि भएको छ ।
मुसामा हुने एकप्रकारको माइट भन्ने सङ्क्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने व्याक्टिरियाको कारणले स्क्रबटाइफस हुने भरतपुर अस्पतालका फिजिसियन डा. महेन्द्र अग्रहरीले जानकारी दिनुभयो । यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ । उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन सुरू हुन्छ । यसमा विशेषरी उच्चज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डीस हुने, पेट दुख्ने अग्रहरीले बताउनुभयो ।
यसैगरी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो मध्ये एक डेंगु हो । यसको सङ्क्रमणमा सुरूआती दिनमा जिउमा रातो रातो डावर आउने, एक सय डिग्री भन्दा बढी ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिने जस्ता लक्ष्यण देखा पर्ने डा. अग्रहरीको भनाई छ ।
गत हप्ता परेको निरन्तर वर्षाले जिल्लाका शहरी क्षेत्र डुवानमा परेको थियो । अझै पनि ती ठाउँहरुमा पानी जमेको छ । जमेको पानीका कारण यस्ता रोगहरुको संक्रमण अझै बढ्न सक्ने चेतावनी चिकित्सकहरुले दिएका छन् ।