बुटवलः बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार रूपन्देहीको देवदह नगरपालिका ११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो ।

यही ११ असोजमा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आएका पुरुषको पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।

उनमा मिर्गौला र रगतमा खराबी रहेको अस्पतालले जनाएको छ । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ निवासी ५० वर्षीया कोरोना भाइरस सङ्क्रमित महिलाको मृत्यु भएको छ । उनको बिहान ३ः३० बजे भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी थाइराइड, मधुमेह, निमोनिया र दीर्घरोगबाट ग्रसित थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो ।

असोज ५ गते पीसीआर परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले बताउनुभयो । योसँगै कपिलवस्तुमा कोरोना संक्रणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !