भरतपुरः चितवनको माडी नगरपालिकाको कार्यपालिका बैठकले अयोध्या धाम निर्माणको लागि जमिन टुंगो लगाएको छ ।

बैठकले माडीको रीउ र घाँघर खोलाको दोभान क्षेत्रको जग्गा लाई छनोट गरेको हो । माडी नगरपालिका वडा नं. ९ र ८ को सीमाक्षेत्रमा रहेको करिब १०० बिघा क्षेत्रफलमा फैलिएको कृष्णनगर पार्क भनिने खाली चौरलाई अयोध्याधाम निर्माण स्थलका रुपमा छनौट गरिएको माडी नगरपालिकाको उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिले अयोध्याधामको लागि मास्टर प्लान बनिरहेको छ । बढीमा १०० बिघा जति जग्गा हामीलाई आवश्यक पर्छ । निजी जग्गाहरु उपलब्ध गराउन स्थानीय सबैजना तत्पर हुनुहुन्छ ।”

बैठकले रामधाम निर्माणको बैंकल्पिक स्थान एवम् ओमकार पार्क र जटायु पार्क निर्माणस्थलका रुपमा पाँचपाण्डव, वडा नं. ७ को शनि मन्दिरको क्षेत्र र गणेशकुञ्ज लगायतको क्षेत्रलाई प्रस्ताव गर्ने पनि निर्णय गरेको छ । माडी वडा नम्बर ७ का केही स्थानीयहरुले धाम निर्माणका लागि करिब १५ बिघा जमिन निःशुल्क दिने घोषणा गरि सकेका छन् ।

यसैबीच अयोध्या धाम खोज तथा अनुसन्धान समिति माडीका संयोजक नारदमणि पौडेलले कार्यपालिकाको बैठकको निर्णय स्वागतयोग्य रहेको बताउनु भयो । जमिनको टुंगो नलागेका कारण काममा अबरोध भएको अबस्थामा आजको निर्णयले काम अगाडि बढाउन सहज भएको र केही दिनमै अयोध्याधाम निर्माणको चरणमा प्रवेश गर्ने बताउनुभयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको कार्यक्रममा भगवान राम भारतको अयोध्या जन्मिएको नभएर नेपालकै माडीको अयोध्यामा जन्मिएको हुन सक्ने भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चर्चा पाएको थियो । माडीका जनप्रतिनिधिलाई भेटेर प्रधानमन्त्री ओलीले अयोध्या धामको निर्माण थाल्न सुझाव दिनु भएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस !