
चितवनः कोरोना संक्रमण शुरुवाती चरणमा सबै संक्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय संक्रमित बिरामी घट्दै गएको छ । अन्य रोगका बिरामी भने बढ्न थालेका छन् ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार आज अस्पतालमा १७ जना मात्रै कोरोना संक्रमित बिरामी छन् । यो संख्या ८३ जनासम्म पुगेको थियो । संक्रमितहरु स्थानीय तहका आईसोलेसन, निजी मेडिकल कलेज, घरमा बस्न थालेपछि सरकारी अस्पतालमा यो संख्या घटेको हो ।
पौडेलका अनुसार अस्पतालले हालसम्म ३३७ जना संक्रमितको उपचार गरिसकेको छ । जसमध्ये १३ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये १० जना जिल्लाका हुन् । अन्य कैलाली, गोरखा र मकवानपुरका रहेका छन् ।
संक्रमितको संख्या घटेसँगै अस्पतालले संक्रमित राख्न प्रयोग गरेको २३ वटा क्याबिन निर्मलीकरण गरेर अन्य रोगका बिरामी राख्न शुरु गरेको छ । पौडेलका अनुसार पछिल्ला दिनमा बहिरंग सेवाका बिरामी बढेर गएका छन् । आईतबार मात्रै ४७३ जनाले बहिरंगबाट र १०३ जनाले आकस्मिकबाट सेवा लिएका थिए ।
यस अघि गएको शुक्रबार बहिरंग सेवामा २४१ र आकस्मिकमा ९९ जना बिरामी मात्रै आएका थिए । बिहीबार यो संख्या १५० र ११४ रहेको थियो ।
अस्पतालले ए ब्लकको भुईतलामा रहेको हाडजोर्नी र सर्जीकल विभागमा संक्रमित राखेको छ । त्यसैगरी पुरानो क्याबिनमा पनि संक्रमित छन् । क्रमशः बिरामी घट्दै जाँदा ती ठाउँमा पनि अन्य बिरामी राखिने अस्पतालले जनाएको छ ।
अस्पतालको आन्तरिक विभागका शैयाहरुमा पनि बिरामी भरिन थालेका छन् । अस्पतालका बरिष्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाका अनुसार क्याबिनहरु शुरु भएपछि प्रसुती गराउन आउनेहरु लाभान्वित भएका छन् ।
जिल्ला र बाहिरका बिरामीहरुले प्रसुतीका लागि भरतपुर अस्पताल रोज्न गर्दछन् । सबै क्याबिन कोभिडका बिरामीका लागि प्रयोग भएपछि प्रसुती गराउन आउनेहरुले समस्या भोगेका थिए । उहाँले भन्नुभयो “अब यहाँ प्रसुती गराउन आउनेहरुको संख्या अरु बढ्छ ।” अहिले दैनिक ४० जनाको हाराहारीले प्रसुती सेवा लिने गरेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार हाल जिल्लामा रहेका संक्रमित मध्ये अस्पताल र स्थानीय तहका आईसोलेसनहरुमा ३२३ जना छन् । घरमा यो संख्या ६५८ रहेको छ । घरमा बस्दा छिटो निको भएको अनुभव संक्रमितहरुले गरेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो “घरको वातावरण आफू अनुकूल हुने भएकोले सम्भव भएकाहरु घरमा बस्ने क्रम बढेको छ ।” लक्षणदेखिएकाहरु मात्रै अस्पताल आउन थालेका छन् । पछिल्ला दिनहरुमा संक्रमितहरुलाई मनोवैज्ञानिक त्रास घटेको छ भने सामाजिक विभेद पनि कम हुँदै गएको छ । जसका कारण घरमा बस्नेहरुको संख्या बढेको हो ।