चितवनः सरकारले कानुनी रुपमा गर्भपतनलाई मान्यता दिएको भए पनि चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउने गरेको पाईन्छ । जसका कारण कतिपयले ज्यान नै गुमाउने गरेका छन् ।
गर्भपतनको कानुनी पक्षबारे ज्ञान नहुँदा असुरक्षित गर्भपतन हुने गरेको चिकित्सकहरु बताउँछन् । गर्भवती महिलाको लिखित मन्जुरीमा सूचिकृत स्वास्थ्यकर्मीद्वारा तोकिएको स्वास्थ्य संस्थामा गर्भपतन गराउन सकिन्छ । प्रचलित कानुनले तोकेको परिधिमा रहेर गरिने गर्भपतन सेवालाई सुरक्षित गर्भपतन सेवा भनिन्छ ।
भरतपुर अस्पतालका सिनियर कन्सल्ट्यान्ट स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटा सुरक्षित गर्भपतन सेवामा गर्भपतनसँगै गर्भनिरोधबारे परामर्श सेवा, महिलाको आवश्यकता र चाहना अनुसार गर्भनिरोध सेवा, गर्भपतनका सम्भावित जटिलताको व्यवस्थापन तथा उपचार समेत पर्ने बताउनुहुन्छ । सुरक्षित गर्भपतन सेवालाई सम्पूर्ण गर्भपतन सेवा पनि भन्ने गरिन्छ ।
कानुनी व्यवस्था अनुसार १२ हप्तासम्मको गर्भ र जबरजस्तीकरणी एवम् हाडनाताकरणीबाट रहन गएका १८ हप्तासम्मको गर्भ पतन गर्न पाईन्छ । गर्भपतन गराएमा महिलाको ज्यानमा खतरा पर्ने भएमा वा शारीरिक वा मानसिक रुपले स्वास्थ्यमा असर पर्ने अवस्थामा वा विकलांग बच्चा जन्माउन सक्ने अवस्था भएमा योग्यताप्राप्त चिकित्सकको रायमा जुनसुकै अवधिको गर्भ पतन गराउन पाईने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।
गर्भवती महिलाको मन्जुरीबिना र लिंग पहिचान गरी लिंगको आधारमा भने गर्भपतन गराउन पाईदैन । सापकोटाको भनाईमा मुख्य रुपमा दुई तरिकाबाट गर्भपतन गराईन्छ । नौ हप्तासम्मको गर्भ औषधिको माध्यमबाट र १२ हप्तासम्मको गर्भ उपकरणको प्रयोगद्वारा सुरक्षित पतन गराउन सकिन्छ । उहाँले भन्नुभयो “महिलाले आफ्नो ईच्छा अनुसार दुई मध्ये कुनै एक विधि छनौट गर्न सक्छन् ।”
गर्भको अवधि १२ हप्ताभन्दा माथि भएमा सम्बन्धित कम्तीमा दुई जना विषय विशेषज्ञको राय लिनु पर्दछ । हाडनाताकरणी र बलात्कारबाट रहन गएको गर्भको हकमा एक जना विषय विशेषज्ञको राय अनुसार महिलाको अनुमतिमा कानुनले तोकेको अवस्थामा मात्रै गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था छ ।
मापदण्ड निर्धारण गरी सूचिकृत भएका चिकित्सकहरुबाट सूचिकृत गरिएको संस्थामा गएर गर्भपतन गराउन पाईन्छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा ५ हजार २ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये ८७९ जना २० वर्ष मुनिका छन् । यसैगरी आर्थिक वर्ष २०७५÷०७६ मा ४ हजार ६३६ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये ४६४ जना २० वर्ष मुनिका छन् । यसैगरी आ.व. २०७४÷०५ मा यो संख्या ४ हजार ४८१ रहेको छ । त्यसवर्ष ३४६ जना २० वर्ष मुनिका थिए ।
विगतमाभन्दा सुरक्षित गर्भपतन गराउनेहरुको संख्या बढ्दै गएको तिवारी बताउनुहुन्छ । तर पनि असुरक्षित गर्भपतन गराउनेहरुको संख्या पनि ठूलो हुन सक्ने उहाँको आँकलन छ । अहिले कोरोना संक्रमणसँगै असुरक्षित गर्भपतन भयो की भन्ने चिन्ता आफूहरुलाई रहेको उहाँले बताउनुभयो ।
सामाजिक रुपमा हेरिने दृष्टिकोण, अवैध रुपमा रहेको गर्भ लगायतका कारण लुकिछिपी गर्भपतन गराउने गरेको पाईन्छ । डा.सापकोटा कानुनी मान्यता पाएको कारण निर्धक्कसँग सुरक्षित गर्भपतन सेवा लिन आग्रह गर्नुहुन्छ । उहाँले भन्नुभयो “गर्भपतन अपराध होइन, सुचिकृत संस्थाका तोकिएका चिकित्सकसँग मात्रै गर्भपतन गराउनु पर्छ ।”
गर्भपतन सम्बन्धी कानुनी व्यवस्थाका बारेमा जनचेतना जगाउन सकेमा असुरक्षित गर्भपतनबाट अकालमा ज्यान गुमाउनेहरुको संख्या निकै कमी आउने उहाँको भनाई छ ।






