चितवनः कोरोना सङ्क्रमण वढिरहेका वेला यहाँ स्क्रब टाइफस र डेंगुका बिरामीको संख्या निकै वढेर गएको छ । भरतपुर अस्पतालमा गएका दुई महिनामा ६९ जनालाई स्क्रब टाइफस र २४ जनालाई डेंगु देखिएको छ ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौ महिनामा परिक्षण गरिएका ३ सय ४५ जनाको नमुनामा ६९ जनामा स्क्रब टाइफस देखिएको हो । यसैगरि सोही अबधिमा ३ सय १५ जनाको परिक्षण गर्दा २४ जनामा डेंगु देखिएको छ । जिल्लाका अन्य अस्पतालमा गरिएको परिक्षणमा पनि रोग देखिएको हुन सक्ने भए पनि तथ्याङ्क सङ्कलन भई सकेको छैन ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार सबै रोगको तथ्याङ्क सङ्कलन भईरहेको छ । केही दिन भित्रमानै जिल्ला भरको तथ्याङ्क आउने उहाँले जानकारी दिनुभयो ।
मुसामा हुने एकप्रकारको माइट भन्ने सङ्क्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने व्याक्टिरियाको कारणले स्क्रब टाइफस हुने भरतपुर अस्पतालका फिजिसियन डा. महेन्द्र अग्रहरीले जानकारी दिनुभयो । यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ । उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन सुरू हुन्छ । यसमा विशेषरी उच्चज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डीस हुने, पेट दुख्ने अग्रहरीले बताउनुभयो ।
यसै गरि एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो मध्ये एक डेंगु हो । यसको सङ्क्रमणमा सुरूआती दिनमा जिउमा रातो रातो डावर आउने, एक सय डिग्री भन्दा वढि ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिने जस्ता लक्ष्यण देखा पर्ने डा. अग्रहरीको भनाई छ ।
जिल्लाका शहरी क्षेत्रमा अहिले पानी भरिएको छ । जसका कारण रोग थप बढ्न सक्ने भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष समेत रहनु भएका डा. भोजराज अधिकारीले वताउनुभयो । उहाँका अनुसार पानी सुक्दै जाँदा रोगको प्रकोप वढ्दै जाने खतरा रहेको छ । जिल्लामा हरेक वर्ष यतिवेला दुबै रोगका बिरामी वढ्ने गर्दछन् ।