कछुवा हुर्काउँदै निकुञ्ज

चितवनः चितवन राष्ट्रिय निकुञ्जले गोही सँगै कछुवा पनि हुर्काउँदै आएको छ । गोही प्रजनन् केन्द्रमा नै केहीलाई गोहीसँगै र केहीलाई छुट्टै राखेर कछुवा हुर्काउँदै आएको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार त्यहाँ पाँच जातका ३० वटा कछुवा रहेका छन् । जमिनमा बस्ने दुई जातलाई छुट्टै र पानीमा बस्ने तीन जातलाई गोहीसँगै राखिएको छ । निकुञ्जभित्र र बाहिर उद्धार गरिएका कछुवालाई त्यहाँ बि.सं. २०५७ सालबाट हुर्काउन थालिएको हो । उहाँका अनुसार हुर्किएका छ वटा कछुवा बाहिर निकुञ्ज क्षेत्रमा छाडिएका छन् ।

यहाँ अति संकटापन्न सालको जंगलमा रहने भुई कछुवा, तीन पाते पहाडी कछुवा, पदनी कछुवा, पुतली कछुवा र मयुरपंखी कछुवा रहेका छन् । खड्काका अनुसार भुई कछुवा र तीन पाते पहाडी कछुवाले घाँस पात, किरा फड्याङ्ग्रा, फलफूल खाने गर्दछ । धेरै गर्मीमा पानीमा र अरुबेला जमिनमा यी कछुवा रहने उहाँले जानकारी दिनुभयो । यी कछुवा बिहान र बेलुका धेरै सक्रिय हुने गर्दछन् ।

पदनी पानीमा बस्ने कछुवा हो । यो मुख्य रुपमा घोलमा पाईने गर्दछ । यसले सागपात, किराफट्याङ्ग्रा मासु सबै खाने उहाँको भनाई छ । पुतली कछुवालाई नरम खबटे कछुवा पनि भनिन्छ । दलदल र पोखरीमा यो कछुवा बस्ने गर्दछ । खड्काका अनुसार पहिले पहिले यसै कछुवालाई ईनारमा पानी सफा गर्छ भनेर राख्ने प्रचलन पनि थियो ।

मयुरपंखीलाई नरम खबटे पनि भनिन्छ । यो पनि पोखरी, दलदल र हिलोमा बस्छ । पानीमा पाईने, किरा फट्याङ्ग्रा, माछा मासु खाने गर्दछ ।

निकुञ्जले पदनी, पुतली र मयुरपंखीलाई गोहीसँगै राखेको छ । ती कछुवालाई माछा, मासु दिने गरिएको छ भने अन्यलाई चना, भटमास, फर्सी, गाजर दिने गरिएको छ ।

कछुवा हुर्काएर प्रकृतिमा छोड्न, यसको महत्व बुझाउन, अध्ययन अनुसन्धान र जनचेतनाका लागि निकुञ्जले कछुवाको संरक्षण गरेको उहाँको भनाई छ । विश्वमा २५० जातिका कछुवा पाईन्छन् । ती मध्ये नेपालमा १८ जातिका रहेको खड्काले जानकारी दिनुभयो ।

तस्करहरुले चोरीशिकार गरेर कालो बजारमा यसलाई ठूलो मूल्यमा बिक्री गर्ने गर्दछन् ।