चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ५ का कृष्णचन्द्र भट्टराईका बुवा ७९ वर्षीय पुष्पराजले कोरोना जित्न सफल हुनुभयो । लामो अस्पतालको वसाई पछि डिस्चार्ज हुँदै गर्दा अस्पतालमा तिर्नुपर्ने रकम रु ४ लाख भन्दा माथि भयो ।

चितवन मेडिकल कलेजबाट वुबाको डिस्चार्ज गर्दै गर्दा तिर्नुपर्ने रकम देखेर भट्टराई झसङ्ग हुनुभयो । उहाँले अस्पतालमा राखेको धरौटी रु ३३ हजार वाहेक विल रु ४ लाख २ हजार ४० थियो । उहाँलाई अस्पतालमा भर्ना पछि छातिमा सङ्क्रमण देखिए पछि सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर समेत उपचार गरिएको थियो । तर रकमको जोहो गर्न नपाउँदै उहाँलाई थाहा भयो चितवन मेडीकल कलेजले कोरोना सङ्क्रमितका लागि निःशुल्क उपचार गर्दै आएको छ । भट्टराईले वुबालाई खाना नरुचेर कम्जोर भए पछि भदौ ११ गते चितवन मेडिकल कलेज लैजानु भएको हो । त्यसको भोलिपल्ट उहाँमा कोरोना सङ्क्रमण देखिएको थियो ।

भट्टराईले भन्नुभयो “मेडिकल कलेजले सङ्क्रमितको उपचार निःशुल्क गरेकै कारण म जस्ता धेरैले उपचार खर्च जुटाउनु परेन ।” वृद्ध वुबाले कोरोना जितेको र निःशुल्क उपचार पाएकोमा उहाँले खुसी प्रकट गर्नुभयो । सो मेडिकल कलेज कोरोना उपचार र परिक्षणमा अग्रणी स्थानमा रहेको छ ।

अस्पतालले हाल सम्म २ सय २९ जना सङ्क्रमितको उपचार गरेको छ । जस मध्ये अस्पतालमा ७२ जना उपचाररत रहेका छन् । अस्पतालका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले सरकारले गरेको निर्देशन अनुरुप कोरोना सङ्क्रमितको उपचार सम्बन्धित बिरामीको परिवारलाई निःशुल्क गरिएको बताउनुभयो । कोरोना सङ्क्रमित वढ्दै गएका कारण अस्पतालको स्रोत साधन उनीहरुको उपचारमा लगाईएको उहाँको भनाई छ । कतिपय बिरामीले अन्य समस्या पनि कोरोना सङ्क्रमण देखिए पछि निःशुल्क गर्न दबाब दिएको भन्दै उहाँले त्यो सम्भव नरहेको बताउनुभयो ।

जिल्लामा सो मेडिकल कलेज सहित कोरोनाका उपचार भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र पुष्पाञ्जली अस्पतालले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !