चितवनः भरतपुर अस्पतालमा प्रदेश स्तरीय सरुवारोग अस्पताल वनाईने भएको छ । ५० शैयाको अस्पताल निर्माणका लागि भरतपुर अस्पताललाई आबश्यक प्रकृया अघि वढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार गरेको छ ।
अस्पताल बिकास समतिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार मन्त्रालयले सरुवारोग रोकथाम, नियन्त्रण र उपचार एबं स्वास्थ्य विपद व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परिक्षण सेवा सहितको अस्पताल निर्माण गर्ने सरकारको निती तथा कार्यक्रम अन्तर्गत यहाँ प्रदेश स्तरको अस्पताल निर्माण गरिने भएको हो । चालु आर्थिक वर्षको निती तथा कार्यक्रममा त्यस प्रकारको ३ सय शैयाको केन्द्रीय र न्यूनतम ५० शैयाको प्रदेश स्तरीय अत्याधुनीक सुबिधा सम्पन्न अस्पताल स्थापना गर्ने जनाईएको थियो ।
सोही अनुरुपको प्रदेश स्तरीय अत्याधुनीक सुबिधा सम्पन्न सरुवा रोग अस्पताल स्थापनाका लागि मन्त्रालयले रु ८ करोड निकासा दिने गरि अस्पताललाई पत्राचार गरेको अधिकारीको भनाई छ । मन्त्रालयले पत्राचार गरे संगै आबश्यक प्रकृया अघि वढाईएको छ ।
अस्पतालको गुरुयोजनामा सरुवा रोग अस्पताल वनाउने ठाउँ नछुट्याईएकाले कुन ठाउँ उपयुक्त हुन्छ भन्ने विषयमा गृहकार्य थालिएको उहाँले जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो “एक वर्ष भित्रै काम गर्नु पर्ने भएकाले ठाउँ पहिचान गरि तत्काल काम अघि वढाउँछौ ।” संघिय अस्पताल भएको र चितवन सहित छिमेकी जिल्लाहरुबाट समेत बिरामी आउने भएकाले मन्त्रालयले भरतपुर अस्पताललाई प्राथमिकतामा राखेर अस्पताल निर्माणका लागि छनोट गरेको हो ।
यसै गरि भरतपुर अस्पताललाई संघिय सरकारले बिशिष्टिकृत आकास्मिक सेवा भवन निर्माणका लागि मन्त्रालयले रु ९ करोड विनियोजन गरेको छ । मन्त्रालयले अस्पताललाई पत्राचार गरि ५० शैयाको आकास्मिक कक्ष निर्माणका लागि निर्णय भएकाले प्रकृया अघि वढाउन निर्देशन गरेको छ ।
अधिकारीले वजेटको सुनिश्चितता भए संगै निर्माणका लागि आबश्यक प्रकृया अघि वढाउन लागिएको जानकारी दिनुभयो । हालको आकस्मिक कक्ष साँघुरो र जिर्ण भएको छ । आकस्मिक कक्षमा बिरामीको वढ्दो चाप संगै अव्यवस्थित भए पछि मन्त्रालयमा छुट्टै कक्ष निर्माणका लागि बजेट माग गरिएको थियो ।
अस्पताललाई गत वर्ष निकासा गरेको रु ८ करोडलाई मन्त्रालयले निरन्तरता दिएको अधिकारीको भनाई छ । यसै गरि मदनभण्डारी ट्रमा सेन्टरका लागि रु १ करोड, फर्नीचरका लागि रु ५० लाख, अस्पतालमा औजार खरिदका लागि रु ३ करोड, बन्दै गरेको “सि” ब्लकका लागि रु ५ करोड निकासा दिने भएको जनाईएको छ । अस्पतालमा खानेपानी र फोहोर व्यवस्थापनका लागि खानेपानी तथा सरसफाई मन्त्रालयले सहयोग गर्ने भएको छ । अधिकारीले भन्नुभयो “रु १२ करोड हाराहारी खर्च हुने देखियो । त्यसका लागि मन्त्रालय सकारात्मक रहेको जानकारी आएको छ ।”







