
चितवनः जिल्लाको शहरी क्षेत्रमा अप्राकृतिक रुपमा जमेको पानी मानव स्वास्थ्यका लागि हानिकारक हुने जानकारहरुले बताएका छन् । सरुवा रोगहरु फैलिन सक्न भएकाले मानव स्वास्थ्यका लागि खतरा हुने उनीहरुले औल्याएका हुन् ।
वर्षात् शुरुभए यता भरतपुर महानगरपालिकाको वडा नं. १०, ११, १२, ७ लगायतका मुख्य शहरी क्षेत्रमा पानी जमेको छ । घरहरुका बीचबीचमा जमेको पानी तलाउ जस्तै देखिन्छन् ।
बरिष्ठ फिजिसियन डा. विजय पौडेल अप्राकृतिक रुपमा जमेको पानीले महामारी समेत ल्याउने सक्ने बताउनुहुन्छ । जमेको पानीमा शौचालय, बाथरुम लगायतका पानी समेत मिसिन सक्ने भन्दै उहाँले भन्नुभयो “यसले झाडापखाला लगायतका महामारी रोग निम्त्याउन सक्छ ।” उहाँका अनुसार डेंगु, टाईफाईड, भाईरल र ब्याक्टेरियल रोगहरु जमेको पानीबाट फैलिन सक्दछन् ।
जमेको प्रदुषित पानीले वातावरण समेत असन्तुलित हुने उहाँको भनाई छ । मौसम परिवर्तनको यो समयमा मानिसको प्रतिरक्षा प्रणाली कमजोर हुने भन्दै उहाँले यस्तो बेला रोग फैलिन सम्भावना बढी रहनेतर्फ सचेत गराउनुभयो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी पानी जम्ने समस्याले लाखुट्टेको संख्या बढ्ने बताउनुहुन्छ । लामखुट्टेको टोकाईबाट हुने रोगको प्रकोप हुन सक्ने भन्दै उहाँले भन्नुभयो “डेंगु, कालाजार, मलेरिया, आउ, झाडापखाला, हैजा जस्ता रोगहरु फैलिन सक्छन् ।” पानीले भरिएपछि जमिनमुनि रहेका मुसा, घरमा गएर टाईफस फिवर सार्न सक्ने खतरा रहेको उहाँको भनाई छ ।
तिवारीले अहिले जमेको पानी अस्पतालजन्य र अन्य फोहोर समेत मिसिएकाले यो पानी रसाएका र फुटेका खानेपानीको पाईपहरुबाट मिसिएर घरघरमा पुगेमा थप जोखिम हुन सक्ने जानकारी दिनुभयो । यस अघि पनि चितवनमा टाईफाईडको प्रकोप देखिएको भन्दै जोखिम रहेको उहाँको भनाई छ ।
भाडाकुँडा, टायरहरुमा जमेका पानीबाट डेंगु फैलिन सक्ने खतरा तिवारीले औल्याउनुभयो । हालसम्म समस्या नदेखिएको भए पनि सम्भावना नटरेको तिवारी बताउनुहुन्छ ।
भरतपुर महानगरपालिका वडा नं. १२ का स्थानीय समाजसेवी शालिग्राम शर्मा जमेको पानीले मानव वस्तीमा दुर्घन्ध फैलिएको बताउनुहुन्छ । झारपात कुहिएर, किराफ्याङ्ग्रा मरेर पानी फोहोर भएको भन्दै उहाँले सर्प, मुसा लगायतका जीव जमिनबाट बाहिर निस्किएर घरहरुमा पश्ने समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो “घरमै बस्दा समेत नाक थुनेर बस्नुपर्ने अवस्था छ ।”
विज्ञहरुले अस्पताल क्षेत्रमा पानी जम्दा संक्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरेका हुन् । पानी जमेको यसै क्षेत्रमा संघीय सरकारी भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, दुई दर्जनभन्दा बढी निजी अस्पताल, आँखा अस्पताल रहेका छन् । यी अस्पतालमा चितवन सहित १८ भन्दा बढी जिल्लाबाट नियमित बिरामी आउने गर्दछन् । ती अस्पतालहरुमा अहिले भयावह बन्दै गएको कोरोनाका संक्रमित समेत छन् । उनीहरुले प्रयोग गरेका मलमूत्र र फोहोर समेत पानीमा मिसिन सक्ने खतरा रहेको छ ।