चितवनः भरतपुर महानगरपालिकाले सञ्चालन गरेको प्राकृतिक चिकित्सालय आईसोलेसनबाट ५० जना कोरोना भाईरस (कोभिड १९) सङ्क्रमित निको भएर घर फर्किएका छन् । भरतपुर महानगरपालिका वडा नं. १, बागेश्वरीमा रहेको योगी नरहरि नाथ प्राकृतिक चिकित्सालयबाट उपचार पछि उनीहरु सङ्क्रमण मुक्त भएर घर फर्कीएका हुन ।

भदौ १४ गतेदेखि आईसोलेसन सञ्चालनमा आएको हो । चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाका अनुसार चिकित्सालयमा ५३ जना बिरामी उपचाररत रहेका छन् ।

यहाँ योग तथा प्राकृतिक चिकित्सा विधिद्वारा उपचार गरिएको र खानपान तथा ध्यान साधनामा बिशेष जोड दिई उपचार गराइएको डा. कोइरालाले बताउनुभयो । बिरामीलाई समय मिलाएर फलफूल, आँकुरा आएका गेडागुडी र हरेक साँझ दूधमा बेसार हालेर खुवाउने गरिएको छ ।

बढीमा १४ दिनमा सबैलाई नेगेटिभ आएपछि घर पठाईएको उहाँले जानकारी दिनुभयो । महानगरमा रहेका संक्रमितहरुलाई यहाँ राखेर उपचार गरिएको छ । अन्य ३ सय ४ जना होम आईसोलेसन र २० जना वडाले निर्माण गरेको क्वारेन्टाईनमा छन् । महानगरमा हालसम्म १ हजार १ जना संक्रमित भईसकेका छन् । यो संख्या जिल्लामा १ हजार ५ सय २९ रहेको छ । हालसम्म जिल्लाका १८ जनाको मृत्यु भईसकेको छ । जसमध्ये १० जना भरतपुर महानगरपालिकाका छन् ।

पूर्वी चितवनमा चार वटा नगरपालिकाले एकै ठाउँमा र माडी नगर नगरपालिका एवंम् ईच्छाकामना गाउँपालिकाले फरक फरक ठाउँमा आईसोलेसन तयार गरेका छन् । लक्ष्मण नदेखिएका संक्रमितलाई स्थानीय निकायले सञ्चालन गरेका आईसोलेसन र घरमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !