
चितवनः जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण बढ्ने चिन्ता व्यक्त गरिएको छ । साउन २८ गतेबाट जारी निषेधाज्ञा भदौ ३१ गतेपछि खुकुलो बनाईएको छ । सर्वसाधारणले प्रशासनको आदेश पूर्ण पालना नगर्दा संक्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरिएको हो ।
जिल्लामा संक्रमित बढेपनि व्यापार व्यवसाय चलाउनु पर्छ भन्ने आवाज चर्काे बन्दै गएपछि प्रशासनले केही खुकुलो गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले समाजभन्दा प्रशासक अलग्गै जान नसक्ने भएपनि समाजको आवाजलाई सम्बोधन गर्दै निषेधाज्ञा खुकुलो बनाईएको बताउनुभयो ।
सरकारले गरेको अनुरोधलाई सर्वसाधारणले पूर्ण पालना गरेमा संक्रमण फैलिन नपाउने उहाँको भनाई छ । सर्वसाधारणले वेवास्ता गरेमा भने संक्रमण बढ्न सक्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी ६ महिनाको लकडाउनको परीक्षणपछि नयाँ ढंगको परीक्षण शुरु भएको बताउनुहुन्छ । तिवारीले भन्नुभयो “एउटा चरणमा पूर्ण लकडाउन गरियो । समुदायमा जानबाट रोकिएको पनि हो । तर बीचमा लकडाउन केही खुकुलो हुँदा समुदायमा फैलियो ।”
पूर्ण लकडाउन गरेरै संक्रमण रोक्न सकिन्छ भन्ने हाम्रो आवाज मधुरो बन्दै गएको र अब खोल्नुपर्छ भन्ने आवाजले जित्दै गएपछि खुकुलो भएको उहाँको कथन छ । अब कोरोनासँग ‘लिभिङ टुगेदर’ गरेरै अघि बढ्नु पर्ने उहाँले सुझाउनुभयो ।
स्वास्थ्य कार्यालयले पनि अब संक्रमण रोक्न भन्दा पनि मृत्यु हुन नदिनेतर्फ पहल गर्ने उहाँको भनाई छ । तिवारीले भन्नुभयो “अब हामी सिकिस्त बिरामी र लक्षण भएकाहरुको व्यवस्थापनमा लाग्छौं ।”
समुदायस्तरमा फैलिएको संक्रमणले प्रतिरोधात्मक क्षमता पनि बढाउँदै लगेको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो “कतिपयलाई थाहै नपाई संक्रमण भएर निको भईसक्यो, कतिपयलाई कोरोना सामान्य रोग हो भन्ने मनोबल बढेको छ ।”
समाजमा लक्षण नदेखिएका संक्रमित बढ्दै जाँदा त्यसले जोखिम कम हुँदै जाने उहाँको भनाई छ । डा. अधिकारी अहिले ६८ प्रतिशत लक्षण नभएका र ३२ प्रतिशत लक्षण भएका संक्रमित रहेको बताउनुहुन्छ । उहाँका अनुसार ३ प्रतिशत संक्रमित मात्रै गम्भीर बिरामी भएका छन् ।
लकडाउन खुकुलो हुँदै जाँदा लक्षण नहुने संक्रमित बढ्दै जाने उहाँको अनुमान छ । उहाँले भन्नुभयो “अब लक्षण नभएका संक्रमित ८० प्रतिशतसम्म पुग्न सक्छ ।” तर मौसम चिसो हुँदै जाँदा दीर्घरोगीहरु भने बढी जोखिममा पर्ने डा. अधिकारीको भनाई छ । उहाँले भन्नुभयो “जाडोमा दीर्घ रोग बढी संक्रिय हुन्छ, त्यसमाथि कोरोना संक्रमण भयो भने जोखिम उच्च हुन्छ ।” दम, बाथ लगायतका रोगहरुले जाडो महिनामा बढी दुःख दिने बताउँदै उहाँले यस्ता वर्ग कोरोना संक्रमणबाट बच्नु पर्ने सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो “जाडो महिनामा दीर्घरोगी धेरैको मृत्यु हुने गरेको छ, कोरोना संक्रमणका कारण यो संख्या थपिन सक्छ ।”
उद्योग वाणिज्य महासंघ बागमतीका उपाध्यक्ष राजन गौतम रोगले भन्दा भोकले धेरै मानिसको मृत्यु भएको भन्दै निषेधाज्ञा र लकडाउनले पनि रोग फैलिनबाट रोक्न नसकेको बताउनुहुन्छ । उहाँले सरकारको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेर अर्थव्यवस्थालाई चलायमान बनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “संक्रमणबाट जतिको मृत्यु भयो, त्योभन्दा बढी गरिबीका कारण मानिसले ज्यान गुमाउनु परेको छ ।”
जिल्लामा हालसम्म १ हजार ५१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये १७ जना चितवनका हुन् भने अन्य जिल्लाका संक्रमित हुन् । देशकै मध्यभाग भएकाले अन्यत्रबाट संक्रमितहरु यहाँ उपचार र रोजगारीका लागि धेरै आउने गर्दछन् । जसका कारण सबैभन्दा बढी अस्पताल र त्यसपछि उद्योग कलकारखाना संक्रमणको जोखिममा छन् ।
लकडाउन खुकुलो भएसँगै मानिसको आवागमन बढ्ने हुँदा संक्रमण झनै फैलिन चिन्ता गरिएको छ ।