
चितवनः यहाँ रहेको चितवन मेडिकल कलेजमा गरिएको पिसीआर परिक्षणका क्रममा जिल्लामा थप २ सय २१ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पतालबाट नमुना पठाईएकोमा १ सय ८४ जना र सोही कलेजमा नमुना संकलन गरिएकोमा नमुनामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको कलेजले जनाएको छ ।
कलेजका अनुसार बिहिबार गरिएको परिक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको हो । ६ सय २७ जनाको परिक्षण गरिएकोमा सो संख्यामा कोरोना पुष्टि भएको कलेजले जनाएको छ ।
यो संगै बिहिबार मात्रै जिल्लामा २ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । चितवन सहित बिभिन्न जिल्लाबाट आएर नमुना दिएकाहरुमा कोरोना पुष्टि भएको हो । भरतपुर कोभिड १९ प्रयोगशालाले बिहिबार बिहान र साँझ गरेर १२ जनामा संक्रमण पुष्टि गरेको थियो ।
यस्तै बुधबार राती मात्रै चितवन मेडिकल कलेजले १ सय २ जनामा कोरोना संक्रमण पुष्टि गरेको थियो । बिहिबार आएको नतिजा जिल्लामा अहिले सम्मकै उच्च हो ।