हेटौडाः मकवानपुरका ६८ वर्षीय वृद्धको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको छ । दम र मुटु रोगले ग्रसित मनहरी गाउँपालिका– ८ सिमपानीका वृद्धको सोमबार मृत्यु भएको हो ।

दुई दिनदेखि बिरामी परेका वृद्धको घरमा मृत्यु भएको हेटौँडा– ४ कर्रास्थित आइसोलेसनका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए । अकस्मात सोमबार बिहान घरमै ढलेका उनको मृत्युपछि स्वाब संकलन गरिएको चौलागाईंले बताउनुभयो ।

हेटौँडा– १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार साँझ वृद्धलाई कोरोना पुष्टि भएको थियो । ‘छिमेकी घरबाट आफ्नो घरमा जाने क्रममा एक्कासी उनी ढलेका थिए । स्वास्थ्यकर्मीको टोली त्यहाँ पुग्दा उनको निधन भइसकेको थियो’, गाउँपालिकाका स्वास्थ्यकर्मी ज्योतिराज लुईंटेलले भन्नुभयो ।

उहाँको शव आज बिहान नेपाली सेनाले व्यवस्थापन गरेको छ । कोरोनाको नतिजा नआउँदासम्म गाउँपालिकाले ती वृद्धको शव सदगद नगर्न परिवारलाई आग्रह गरेको थियो । उनीसँगै मकवानपुरमा कोरोना संक्रमणबट मृत्यु हुनेको संख्या ११ पुगेको छ । आइतबार पनि हेटौँडा–४ का ६१ वर्षीय पुरुषको काठमाडौंमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !