चितवनः रत्ननगरका ४६ वर्षिय पुुरुषको बिहिबार राती भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो । राप्ती नगरपालिका ४ का १८ वर्षिया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो । सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी नै मृत्यु भएको छ । सबैको लक्षण उच्च ज्वरो, रुघाखोकी नै देखिने गरेको छ । बिहिबार र शुक्रबार मृत्यु भएका मध्ये रत्ननगरका पुरुषको कोरोना पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेल दैनिक एक÷दुई वटा यस्ता बिरामी आउने गरेको बताउनुहुन्छ । बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा उपचार गर्न कठिन हुने गरेको उहाँको भनाई छ ।

अस्पतालको अकस्मिक कक्षका विभागीय प्रमुख डा.जगन्नाथ तिवारी अन्तिम समयमा अस्पताल ल्याउँदा मृत्यु बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “बिरामी अस्पताल आउँदा रक्तचाप र अस्सिजनको मात्रा कम भएर आउँछन् । केही गर्न नपाउँदै मृत्यु हुन्छ ।” कतिपयको बाटोमै र कतिपय उपचार शुरु गर्न नपाउँदै मृत्यु हुने गरेको उहाँको भनाई छ । उहाँले थप्नुभयो “श्वास लिन गाह्रो भयो भन्दाभन्दै बिरामीको मृत्यु हुने गरेको छ ।”

अस्पतालमा सघन उपचार कक्षको शैया अभावको कारणले पनि बिरामीहरुको उपचार गर्न कठिन भएको तिवारी बताउनुहुन्छ । समुदायमा कोरोना फैलिएसँगै यसरी बिरामी आउने क्रम बढेको हो । उहाँका अनुसार बिरामीले सहनसक्ने अवस्थासम्म घरमा नै बस्ने र अति कठिन भएपछि मात्रै अस्पताल आउने भएका कारण उपचार असम्भव हुने गरेको छ ।

अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि यहाँका स्थानीयहरु अस्पताल जान नै डराउने गरेका छन् । सामान्य रोग लागेका बिरामीहरु अस्पतालमा जाने गरेका छैनन् । कतिपयले सामान्य भन्दै घरमा बस्दा पछि जटिल समस्या आउने गरेको छ । कतिपयलाई कोरोनाको लक्ष्यण देखिएपनि समाजको डर र अस्पताल गएपनि केही हुँदैन भन्ने भ्रमका कारण घरमै बस्दा पछि समस्या जटिल बन्ने गरेको छ ।

भरतपुर अस्पतालका कोभिड क्लिनिकल टिम संयोजक डा.प्रमोद पौडेल जटिल भएपछि मात्रै अस्पताल आउने क्रम बढ्दा समस्या भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “सिटामोलले एक÷दुई दिनमा ठिक नभएमा ज्वरोका बिरामी अस्पताल आउनु पर्छ ।” मानिसहरुलाई समस्या भएजस्तो नदेखिने तर अकस्मात श्वास फेर्न गाह्रो भएर मृत्यु हुने गरेको उहाँको भनाई छ ।

रुघाखोकी, ज्वरो, दम भएका बिरामीले नियमित रुपमा अक्सिजनको मात्रा हेर्नु पर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो “ज्वरो आएपछि अस्पताल जाँदा कोरोना भन्छन् कि भन्ने डरले घरमै रोग पालेर बस्ने क्रम बढी भएको छ ।”

चितवन मेडिकल कलेजका निर्देशक डा.दयाराम लम्साल अन्तिम अवस्थामा उपचारका लागि आउने क्रम बढेको बताउनुहुन्छ । समयमा उपचार गर्न नआउँदा समस्या हुने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “सकेसम्म घरमा नै उपचार गर्न चाहने बढी छन् । जसले गर्दा जटिल भएपछि मात्रै अस्पताल आउने गरेका छन् ।” सामान्य अवस्था बाहेक समस्या देखिएमा अस्पताल आउन उहाँले सुझाव दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी अन्तिम अवस्थामा अस्पताल आईपुग्दा बिरामीको मृत्यु बढेको छ भन्नुहुन्छ । रुघाखोकी र एक सय भन्दा बढी ज्वरो आएमा अस्पताल जान उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो “कोरोना भएमा अरुले के भन्लान् भनेर पनि अस्पताल आउन डराएको अवस्था छ ।” अस्पतालहरुले सकेसम्म सुरक्षाको मापदण्ड अपनाएर उपचार गरिरहेकाले रोग पालेर घर नबस्न उहाँले आग्रह गर्नुभयो ।

कतिपय बाटोमै मृत्यु हुनेहरुको कोरोना परीक्षण समेत नगरी परिवारले शवको व्यवस्थापन गर्ने गरेका छन् । अस्पतालमा आईपुगेर मृत्यु भएकाहरुको भने स्वाब परीक्षण गर्ने गरिएको छ । यसरी मृत्यु भएका कतिपयको परिवारले अस्पतालबाट स्वाब परीक्षण नगरी शव घर लैजाने गरेका छन् । यसै भदौ १४ गते यस्तै प्रकृतिका तीन जनाको भरतपुर अस्पतालमा मृत्यु भएको थियो । उनीहरु तीनै जनाको कोरोना पोजेटिभ देखिएको थियो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले घरमा रोग पालेर नबस्न आम नागरिकहरुलाई आव्हान गरिएको बताउनुभयो । सामान्य समस्यामा अस्पताल आउन नपरेपनि टेलिफोन लगायतका माध्यमबाट चिकित्सकसँग परामर्श गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

जिल्लाका सरकारी र निजी अस्पतालले सहकार्य गरेर आएका बिरामीलाई उपचार व्यवस्था गरिएको छ । केही दिन अघि उपचार नपाएर मृत्यु भएको घटनापछि स्थानीय प्रशासनले अस्पतालहरुलाई समन्वय गरेर उपचार गर्न निर्देशन दिएको छ । भरतपुर अस्पतालका अध्यक्ष डा. अधिकारीको संयोजकत्वमा रहेको प्राविधिक समितिले उपचार नपाउने अवस्था आउन नदिनका लागि काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !