चितवनः कृषि ज्ञानकेन्द्र चितवनले मलमा कालोबजारी गरे कानुन बमोजिम कारवाही हुने चेतावनी दिएको छ । कार्यालयले एक विज्ञप्ती प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता, इष्टमित्र एवम् चिनेजानेका व्यक्तिलाई मद दिने, मल लुकाउने, बढि मूल्यमा बिक्री गर्ने र कालोबजारी गर्ने गरेको गुनासो सुनिएको भन्दै यस्तो गरेको पाइए कारवाही गर्ने चेतावनी दिएको हो ।

थोरै मात्रमा उपलब्ध भएपनि कृषि ज्ञान केन्द्रले कृषकको पहुँच होस् भन्ने हेतुले जिल्ला कृषि सामग्री आपूर्ति व्यवस्थापन समितिको निर्णय अनुसार सहकारीको सदस्य संख्या, विगतमा रासायनिक मलको कारोवारको अवस्था र सम्बन्धित स्थानीय तहमा अनुमती लिएका सहकारीलाई मध्यनजर गरी मलको सिफारिस गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । सहकारी संस्थालाई उपलब्ध गराइएको मलको परिमाणलाई थप पारदर्शी ढङ्गले बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन गरेको उहाँले बताउनुभयो ।

यस्तै स्थानीय निकायसँग समन्वय गरी कोरोना ९कोभिड १९० रोकथामका लागि सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी निर्देशिका पालना गर्न समेत कृषि ज्ञान केन्द्रले अनुरोध गरेको छ । अहिले धान पसाउन सुरु गरेका हुनाले अबको १५ दिन धान बालिका लागि संवेदनशील समय भएको उल्लेख गर्दै उचित मलजल हुन नसकेमा उत्पादनमा ह्रास आउनसक्ने तर्फ केन्द्रले सचेत गराएको छ । प्रमुख ढकालले सहकारी र कृषक समूहलाई धान बालीलाई प्राथमिकतामा राखेर मल वितरण मिलाउन समेत अनुरोध गरिएको बताउनुभयो । कसलै कालोबजारी गरेको थाहा पाए जानकारी उपलब्ध गराउन समेत कृषि ज्ञान केन्द्रले अनुरोध गरेको छ ।

चितवनमा हालसम्म ४२६ मेट्रिकटन मल वितरण भइसकेको छ । नेपाल सरकारले उपलब्ध गराउने कोटामध्य कृषि सामाग्री कम्पनीबाट ८ हजार मेट्रिकटन र साल्ट्र ट्रेडिङबाट ८ सय मेट्रिकटन वितरण हुने गरेको छ । वितरण हुन बाँकी मल समेत केही दिनमा आउने र वितरणमा पनि सहजता हुने ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । सरकारले उपलब्ध गराएको मल न्यायोचित ढङ्गले वितरण गर्न ज्ञानकेन्द्रले अनुरोध गरेको छ ।

माग अनुसारको आपुर्ती हुन नसक्दा देशभर नै मलको चरम अभाव छ । चितवनमा बार्षिक १० हजार मेट्रिकटन मलको माग हुने गर्दछ । सबैभन्दा धेरै धान बालीका लागि मल चाहिने गरेको छ । साउन महिनामा मात्रै साल्ट्र ट्रेडिङ कार्पोरेशन लिमिटेडले ४२६ मेट्रिकटन युरिया मल बिक्री गरिसकेको छ भने कृषि सामाग्री कम्पनीले युरिया बाहेकका मल बिक्री वितरण गरेको छ । चितवनमा रासायनिक मलको बिक्री वितरणका लागि अनुमती लिएका १०३ वटा सहकारीले कृषि ज्ञानकेन्द्र चितवनको सिफारिसमा अनुदानको रासयनिक मल वितरण गर्दै आएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस !