चितवनः कोभिड १९ सङ्क्रमित गर्भवतीका लागि भरतपुर अस्पतालले छुट्टै कक्ष निर्माण थालेको छ । व्यथा लागेका गर्भवतीलाई राख्ने, साधारण बच्चा जन्माउने, शल्यक्रिया, शिशु कक्ष अलग्गै वनाउन सुरु गरेको हो । चितवन सहित १९ जिल्लाका बिरामी आउने यस अस्पतालमा कोभिड भएकाको राम्रो उपचार र अन्यलाई सुरक्षित वनाउन अलग्गै कक्ष वनाउन थालिएको हो ।

यस अस्पतालमा बार्षिक १३ हजार भन्दा वढी गर्भवती सुत्केरी हुने गर्दछन् । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग बिशेषज्ञ डा. राम प्रसाद सापकोटाका अनुसार हाल दैनिक ३० जना भन्दा वढी गर्भवतीले यहाँ बच्चा जन्माउने गरेका छन् । अन्यत्र भन्दा सुरक्षित ठानेर नै यहाँ वढी आउने गरेको उहाँको भनाई छ । हाल सम्म अस्पतालले चार जना कोरोना सङ्क्रमण भएका महिलाको प्रसूति गराई सकेको छ । एक जना महिला आइसोलेसनमा रहेको सापकोटाको भनाई छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार यही शुक्रबार सम्ममा ती कक्ष तयार हुने गरि काम भैरहेको छ । कोभिडको आइसोलेसन वनाईएको अस्पतालको “ए” ब्लकको भुईतलामा यस अघिको सर्जीकल क्याविनका १० कोठा मध्ये चार कोठामा छुट्टै कक्ष वनाउन थालिएको छ । तिवारीको भनाईमा कोभिड आईसोलेसन रहेकै ठाउँमा प्रसूति कक्ष निर्माण गरिदै छ । कोभिड सङ्क्रमित आमाबाट जन्मिएका बच्चा राख्ने ठाउँमा भेन्टिलेटर समेत जडान गरिने तिवारीले जानकारी दिनुभयो ।

कोभिडका बिरामी आउने छुट्टै प्रबेश क्षेत्र भएकाले उनीहरुबाट अन्य सुत्केरी र बिरामीलाई कुनै समस्या हुने छैन । अस्पतालको “ए” व्लकको भुई तलाको सर्जीकल बिभागका ६ वटा कोठा र अर्थोपेडिक कक्ष हाल कोभिड आइसोलेसन वनाइएको छ । सोही ठाउँमा कोभिड प्रसूति कक्ष वनाउन लागिएको हो ।

अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले परोपकार प्रसूति गृह पछि देशमै सबैभन्दा वढी सुत्केरी हुने अस्पताल भएकाले आबश्यक सम्पूर्ण तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो “निजी झै हामी तर्किन पाउँदैनौ । कोभिड भएका गर्भवतीको प्रसूति गराउनु पर्ने भएकाले छुट्टै व्यवस्था गर्न लागेका छौ ।”

भरतपुर अस्पतालले १० शैयाको कोभिड सघन उपचार कक्ष पनि संञ्चालन गरीरहेको छ । यस अस्पतलले जिल्लामा कोभिड उपचारमा नेतृत्व गरिरहेको छ। मेडिकल कलेज, निजी अस्पताल सबैको सहकार्यमा कोभिड उपचार गराईएको अधिकारीको भनाई छ ।

भरतपुर अस्पतालले गएको बैशाख महिनाबाट कोभिड उपचार गरिरहेको छ । कोभिडका बिरामीलाई छुट्टै ठाउँमा उच्च सावधानी अपनाएर उपचार भैरहेकाले अन्य बिरामी पूर्ण सुरक्षित रहेको अधिकारी बताउनुहुन्छ । कोभिड शल्यक्रिया कक्षमा प्रसूति वाहेककाको शल्यक्रिया समेत गर्न सकिने उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पतालले कोरोना परिक्षण प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !