दैलेखः उपचार अभावमा सुत्केरी महिलाले ज्यान गुमाउनु परेको छ । सुत्केरी व्यथा लागेकी ठाँटीकाध गाउँपालिका– १ सिरागीकी २३ वर्षीया र्पावती शाहीले उपचार अभावमा ज्यान गुमाउनु परेको हो ।

शुक्रबार दिउँसो सुत्केरी व्यथाले च्यापेपछि आफन्त र छिमेकीले प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रामा पुर्‍याएकी शाहीको रक्तश्राव नरोकिँदा स्वास्थ्य चौकीले जिल्ला अस्पताल दैलेखमा पठाएको थियो ।

कमजोर आर्थिक अवस्था रहेका शाहीको जिल्ला अस्पतालमा जाने सवारी साधन नभएका कारण ज्यान गएको मृतक शाहीका काका टेकबहादुर शाहीले बताउनुभयो ।

“शुक्रबार ११ बजे स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो । सुरुमा स्वास्थ्यचौकीले नै रेफर गर्न ढिलाइ गर्‍यो,” उहाँले भन्नुभयो, “जनप्रतिनिधि लगायतका सबैलाई फोन गर्‍यौँ कसैले पनि उपचारमा ध्यान नदिँदा उनको ज्यान गयो ।”

मृतकले छोरीलाई जन्म दिएको र उनको अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !