चितवनः समुदायमा कोरोना फैलिए पछि जिल्लामा रहेका ती स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरिएको छ । गत शुक्रबारबाट मात्रै भरतपुर महानगरमा निषेधाज्ञा जारी गरेको थियो ।
आज मात्र जिल्लामा रहेका अन्य पाँचवटा स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा रहेका सात स्थानीय तह मध्ये भरतपुरको निषेधाज्ञा यथावत रहने गरि माडी नगरपालिका बाहेक थप पाँचवटा स्थानीय तहमा आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईद्धारा आज जारी एक सूचनामा भदौं ५ गतेसम्मका लागि रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका संगै इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम निषेधाज्ञा जारी गरिएका स्थानीय तहहरुको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो । आदेशको अवज्ञा गरिएमा प्रचलित कानुन बमोजिम कार्वाही गरिने उहाँले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिदै गएकोले यसलाई नियन्त्रण गर्न निषेधाज्ञा गर्नुपरेको उहाँको भनाई छ ।
हाल सम्म जिल्लामा १ सय ९९ जनामा संक्रमण देखिएकोमा एक जनाको मृत्यु भएको छ । १ सय १३ जनामा संक्रमण निको भएको छ भने ८५ जना उपचाररत रहेका छन् । कोरोनाको संक्रमण वढ्दै गए पछि शुक्रबार रातीबाट महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । अत्याबश्यक वाहेकका सबै क्षेत्र बन्द गरिएको छ । घरायसी सामाग्री खरिदका लागि विहान र वेलुका ५ वजे देखि ८ वजे सम्म पसलहरु खोल्न दिईने भएको छ ।