चितवनः कोरोना संक्रमण वढ्दै गए पछि भरतपुर महानगरमा आज मध्यरातबाट निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईद्धारा आज जारी एक सूचनामा भदौं ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भरतपुर महानगरपालिकाको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो । आदेशको अवज्ञा गरिएमा प्रचलित कानुन बमोजिम कार्वाही गरिने उहाँले बताउनुभयो । पछिल्लो समय चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिदै गएकोले यसलाई नियन्त्रण गर्न निषेधाज्ञा गर्नुपरेको उहाँको भनाई छ ।
भरतपुर महानगरमा गएको चार दिनमा २९ जनामा कोरोना संक्रमण देखिएको छ । हाल सम्म ९९ जनामा संक्रमण देखिएकोमा एक जनाको मृत्यु भएको छ भने अन्य निको भएका छन् । कोरोनाको संक्रमण वढ्दै गए पछि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । अत्याबश्यक वाहेकका सबै क्षेत्र बन्द गरिने भएको छ । अत्याबश्यक सामाग्री खरिदका लागि विहान र वेलुका ५ वजे देखि ८ वजे सम्म पसलहरु खोल्न दिईने भएको छ ।