धादिङः कोरोना संक्रमणका कारण धादिङका १ पुरुषमा मृत्युपश्चात् कोरोना पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराउँदा गराउँदै उनको मृत्यु भएको थियो ।
धादिङको नीलकण्ठ नगरपालिका–१४ का ती व्यक्ति धादिङबेँसी–काठमाडौं रुटमा गाडी चलाउने चालक रहेको र लकडाउनपश्चात् सवारीसाधन नचलेपछि गाउँमा नै बस्दै आएका थिए ।
रिपोर्ट पोजिटिभ देखिएका कारण उनको शव अस्पतालले सेनाको जिम्मा लगाउने तयारी गरेको परिवारले जनाएको छ । निमोनियाको शंका लागेपछि सोमबार बिहान उपचारका लागि उनलाई जिल्ला अस्पताल धादिङबेँसी पुगेको र त्यहाँ प्रारम्भिक उपचार र एक्सरे गर्दा फोक्सोमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।