बुटवलः बुटवलको कोरोना विशेष अस्पतालमा २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना भएका कपिलवस्तुका २ जनाको मंगलबार राती मृत्यु भएको हो ।
उनीहरू तौलिहवा र कृष्णनगरका २५ र ४२ वर्षीय पुरुष हुन् । मृत्यु हुनेमध्ये कपिलवस्तुका ४२ वर्षीय पुरुष कोरोना पोजिटिभ हुन् । उनी कोरोना भाइरसको लक्षण देखिएर २५ साउनमा भर्ना भएका थिए ।
उनको २५ गते नै पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । सोही दिनबाट उनलाई भेन्टिलेरमा राखेर उपचार भइरहेकोमा मंगलबार स्वास्थ्यमा थप समस्या आएर मृत्यु भएको कोराना विशेष अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले बताउनुभयो ।
त्यस्तै, २५ वर्षीय युवा मंगलबार मात्र प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि आएका थिए । उपचारका लागि आएका उनलाई कोरोनाको लक्षण देखिनासाथ कोरोना विशेष अस्पताल ल्याएर भेन्टिलेटरमा राखिएको थियो ।
उनको पनि स्वास्थ्यमा समस्या आएपछि मंगलबार राती नै मृत्यु भएको अस्पतालले जनाएको छ । उनको पीसीआर रिपोर्ट भने अझै आइसकेको छैन ।