
काठमाडौंः विराटनगरका ६ वटा ठूला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
समुदायस्तरमा संक्रमण फैलिएको प्रदेश १ को राजधानी विराटनगरका कोसी अस्पताल, नोबेल मेडिकल कलेज, न्यूरो अस्पताल, मोरङ सहकारी अस्पताल, गोल्डेन अस्पताल र विराट नर्सिङहोमका चिकित्सक तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।
अस्पतालका संक्रमितमध्ये अधिकांश स्वास्थ्यकर्मी रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो। स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएपछि विराटनगरका चार अस्पताल सिल भएका थिए ।
ती मध्ये दुईवटाले सेवा सुचारु गरेका छन् । संक्रमण देखिएपछि सिल भएको विराटनगरको न्यूरो अस्पताल, गोल्डेन अस्पताल, विराट नर्सिङ होम र मोरङ सहकारी अस्पतालमध्ये न्यूरो र विराटले आकस्मिक सेवा सुचारु गरेका हुन् ।
विराटनगरको कोसी अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासका अनुसार संक्रमितमध्ये अधिकांश स्वास्थ्यकर्मी हुन् ।
अस्पतालका संक्रमितमध्ये एक जना चिकित्सक हुन् । सात जना नर्स, तीन जना सफाइ कर्मचारी, दुई जना प्राविधिक र अन्य प्रशासनका कर्मचारी संक्रमित भएको उहाँले बताउनुभयो ।
स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालले सेवा प्रवाहमा सतर्कता अपनाएको मेडिकल सुपरिटेन्डेन्ट डा। दासले बताए ।
विराट नर्सिङ होम (विराटनगर अस्पताल) का सञ्चालकसहित १३ जनालाई कोरोना संक्रमण देखिएको थियो । जसमध्ये एकजना सेवाग्राही हुन् । तीनजना डाक्टर र पाँचजना स्टाफ नर्स छन् । अन्य प्रशासनका कर्मचारी रहेको अस्पताल प्रशासनले जनाएको छ ।
न्यूरो अस्पताल विराटनगरमा एक सेवाग्राहीसहित आठ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक जना डाक्टर, पाँच स्टाफ नर्स, एक जना सफाइ कर्मचारी हुन् । एक जना बिरामी कुरुवा हुन् ।
अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईका अनुसार संक्रमित स्वास्थ्यकर्मीलाई अस्पतालले आफ्नै आइसोलेसनमा राखेको छ ।
गोल्डेन अस्पतालमा ३, मोरङ सहकारीमा ५ जनालाई संक्रमण देखिएको छ । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार दुई जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।