चितवनः कोरोना भाईरसको संक्रमणका कारण गरिएको लकडाउन खुले पनि साउन महिनाको हरेक सोमबार देवघाटमा लाग्ने बोलबम मेला भने संञ्चालन नगरिने भएको छ । भिडभाड हुँदा रोगको संक्रमण वढ्न सक्ने भएकाले साउन महिना भरको मेला स्थगन गरिएको हो ।
देवघाट क्षेत्र बिकास समितिले पहिलो सोमबार लकडाउन भएकाले मेला स्थगन गरेको थियो । समितिका अध्यक्ष शिबराज पौडेलका अनुसार लकडाउन खुले पनि कोरोनाको संक्रमण नरोकीएकाले मेला स्थगन गरिएको हो । मेलामा छिमेकी देश भारत र देशभरबाट नै भक्तजनहरु आउने गर्दछन् । अघिल्ला वर्षहरु साउन महिनाका सोमबारहरुमा पाँच लाख हाराहारी भक्तजन आउने गरेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष पौडेलले भन्नुभयो “हामीले स्थानीय प्रशासनहरुसंग छलफल गरेर उहाँहरुको सुझाब अनुसारनै बोलबम मेला स्थगन गरेका हौ ।” कोरोनाको संक्रमण घटेमा अबको ठूलो मेला हरिवोदनी एकादशी र सतविज छर्ने मेला मात्र हुने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो“संञ्चार माध्यमहरु मार्फत हामी सबैलाई दुःखका साथ मेला भर्न नआउन अनुरोध गर्न बाध्यछौ ।”
पछिल्ला वर्षहरुमा बोलबम मेला भर्न आउनेहरुको संख्या बढ्दै गएको थियो । कतिपय खालि खुट्टामा देवघाट सम्म मेला भर्न आउने गरेको उहाँले जानकारी दिनुभयो । पबित्र तिर्थस्थल देवघाट चितवन, तनहुँ र नवलपरासी जिल्लाको संगम स्थलमा पर्दछ ।