चितवन – कोरोना भाइरस संक्रमित बढेसँगै नवलपुरको गैंडाकोट नगरपालिका एक साताका लागि शिल गरिएको छ । नगरपालिकाको कार्यालयले आज (बिहीबार) सुचना जारी गर्दै शुक्रबारदेखी एक साताका लागि शिल गर्ने निर्णय भएको जानकारी दिएको छ ।
नगरपालिकाको आज बसेको बैठकले नगरक्षेत्र शिल गर्ने निर्णय गरेको जारी सुचनामा उल्लेख छ । यस अवधीमा अत्यावश्यक बाहेकका सेवा दिने सम्पूर्ण पसल तथा कार्यालयहरु बन्द गर्न नगरपालिकाको कार्यालयले आग्रह गरेको छ ।
दुध तथा दुधजन्य व्यवसाय, अत्यावश्यक सेवा तथा खाद्यान्न पसल र औषधी पसल बाहेकका सम्पूर्ण पसल, होटल व्यवसाय तथा निर्माण व्यवसाय लगायतका सेवाहरु बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिए । यस्तै नगरपालिका भित्रका बैंकहरुलाई स्वास्थ्य तथा सुरक्षा सामाग्रीको उपयोग गरी सामाजिक दुरी कायम गरेर मात्र सेवा दिन आग्रह गरिएको छ । बैंक बाहेकका सम्पूर्ण वित्तिय संस्थाका सेवा एक साताका लागि बन्द गर्ने निर्णय भएको आचार्यले बताए ।
यस्तै बिरामी बोक्ने एम्बुलेन्सम दमकल तथा अत्यावशक कामका लागि स्वीकृत प्राप्त सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनहरु सन्चालन नगर्न, गैंडाकोट हुँदै चल्ने लामो दुरीका सवारी साधनहरु नचलाउन र अत्यावश्यक बाहेकका कामका लागि घरबाट बाहिर ननिक्सन पनि जारी सुचना मार्फत नै आग्रह गरिएको छ ।