संखुवासभाः संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा पहिरोपछि हराइरहेका ११ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
शनिबार राती खसेको पहिरोले ९ घर बगाउँदा हराइरहेको ११ जनाको अवस्था अझै थाहा हुन नसकेको हो । स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् ।
पहिरो खसेपछि सिलिचोङ–१ बेसिन्दा गाउँका ७३ घरका ३ सय ५० जनाभन्दा धेरैलाई सिसुवा नजिकैको चित्रेमा सारिएको छ । यसैबीच उद्धार र राहतको लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत विशिष्ट व्यक्ति सेनाको हेलिकप्टर लिएर प्रभावित ठाउँमा गए पनि बाक्लो हुस्सु र कुहिरोका कारण अवतरण गर्न समस्या भएपछि खाँदबारीको तुम्लिङटार बसेको छ ।
मन्त्री राईसहितको टोली आज प्रभावित ठाउँमा जाने तयारी भएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिनुभयो ।