काठमाडौंः काठमाडौंमा कोरोना संक्रमणको उपचार गराई रहेका एक जनाको मृत्यु भएको छ । केएमसी अस्पताल सिनामंगलमा उपचाररत गोकर्णका ५४ वर्षिय पुरुषको मृत्यु भएको हो ।
उनलाई उपचारका लागि ल्याईएकोमा असार २५ गते मृत्यु भएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा.मुकुन्द राज जोशीले जानकारी दिनुभयो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ । ती पुरुष मिर्गौलाको बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो ।
नेपाली सेनाको टोलीले शनिबार विहान उनको शव व्यवस्थापन गरेको छ ।