चितवनः यहाँको एक बिद्यालयले एक महिना १५ दिनको भाडा रु ३० लाख छुट गरेको छ । कोभिड १९ संगै गरिएको लकडाउनले भाडामा बस्नेहरुको व्यवसाय प्रभाबित भएको भन्दै भरतपुरमा रहेको चितवन माबिले भाडा छुट गरेको हो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछानेका अनुसार सटर भाडा लिएकाहरुबाट मासिक भाडा रु २० लाख उठ्ने गर्दछ । एक महिना १५ दिनको भाडा छुट गरिएको हो । सोही जग्गामा रहेको चितवन मेडिकल कलेजले बार्षिक रु ५० लाख भाडा तिर्ने गर्दछ । त्यस संस्था र मुद्धामा रहेको एक पेट्रोलपम्प बाहेक सटर भाडामा लिएकाहरुको भाडा छुट गर्ने बिद्यालय व्यवस्थापन समितिले निर्णय गरेको जनाएको छ ।
बिद्यालयले सबै भाडामा लगाएको ठाउँहरुबाट वार्षिक रु ३ करोड हाराहारी भाडा संकलन गर्ने उहाँको भनाई छ । बिद्यालयका प्राचार्य मुक्तीनाथ लामिछानेले भाडामा बस्नेहरुले कोभिड १९ का कारण व्यवसाय नभएको भन्दै दिएको निवेदन उपर समितिले सो निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार बिद्यालयले संकलन गर्ने भाडाबाट नीजि स्रोतमा रहेका शिक्षक, शिक्षिका र कर्मचारीको तलब संगै भौतिक पूर्बाधारमा खर्च गरिने गरेको छ ।
यस क्षेत्रमा सरकारी स्तरमा सबैभन्दा वढि भाडा संकलन हुने संस्था चितवन माबि पर्दछ । यस अघि जिल्ला समन्वय समितिले पनि आफ्नो जग्गा एबं भवनमा भाडामा बसेकाहरुलाई लकडाउनको समयमा तीन महिनाको भाडा छुट गर्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस !