चितवनः चितवन मेडीकल कलेजले ३० शैयाको कोभिड सघन उपचार कक्ष स्थापना गरेको छ । कोरोना संक्रमण भएकाहरुको उपचारका लागि अस्पतालले सघन उपचार कक्ष स्थापना गरेको हो ।
सो कक्षको आज रोटरी ईन्टरनेस्नल वर्ष २०२१÷०२२ का प्रेसीडेन्ट शेखर मेहता, डिष्ट्रिक्ट ३२९२ का गभर्नर किरणलाल श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले उद्घाटन गर्नु भएको हो । मेहताले सामाजिक संञ्जाल मार्फत सम्बोधन गरेर र श्रेष्ठ एबं भट्टराई प्रत्यक्ष उपस्थित भएर उद्घाटन गर्नु भएको हो ।
कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा. हरिश चन्द्र न्यौपानेले ३० शैया भेन्टिलेटर सहितको सुबिधा सम्पन्न सघन उपचार कक्ष हुने बताउनुभयो । भेन्टिलेटरमा रोटरी फाउण्डेसनले सहयोग गरेको हो । न्यौपानेका अनुसार यो सघन उपचार कक्ष कोभिड उपचारका लागि नेपालकै सबै भन्दा ठूलो र सुबिधा सम्पन्न हुने छ । हाल चार वटा भेन्टिलेटर भए पनि १५ दिन भित्र ३० वटै भेन्टिलेटर आई पुग्ने छ ।
स्वास्थ्य मन्त्रालयमा कोभिड उपचारका लागि अनुमती माग गरिएको भन्दै उहाँले पिसिआर प्रयोगशाला समेत तयारी अबस्थामा रहेको बताउनुभयो । मन्त्रालयले अनुमती दिए संगै सघन उपचार कक्ष र प्रयोगशाला सञ्चालनमा आउने उहाँको भनाई छ । अस्पतालले रु ५ करोड खर्च गरेर प्रयोगशाला तयारी गरेको होे भने कोभिड सघन उपचार कक्षका लागि रु २५ करोड हाराहारी खर्च भएको उहाँले जानकारी दिनुभयो ।
सोही मेडिकल कलेजका प्राबिधिकहरुले अहिले पनि भरतपुर कोभिड १९ प्रयोगशालामा काम गरिरहेका छन् । यस मेडिकल कलेजले भरतपुर कोरोना अस्पताल, माडी र भरतपुर महानगरपालिका वडा नम्बर ५ मा शैया उपलव्ध गराएर सहयोग गरेको छ ।
बिहीबार मात्रै सिमएसीमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि तत्कालै ती बिरामीलाई भरतपुर अस्पताल सारिएको थियो । उनको आज बिहान मृत्यु भएको छ ।
चितवनमा हालसम्म भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र भरतपुर अस्पतालले मात्रै कोरोना संक्रमितको उपचार गर्न पाउने स्वीकृति पाएको छ ।