चितवन: क्यान्सर रोगको उपचार गरेर भारत बाट फर्कने क्रममा कोरोनाको संक्रमण देखिएको एक वृद्धले कोरोनालाई जित्न सफल भएका छन् । उनी संगै श्रीमतिले पनि कोरोना जितेकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर ६ केसरवागका ७४ वर्षिय वृद्ध र ७३ वर्षिया वृद्धाले कोरोनालाई जित्न सफल भएका हुनु ।
संक्रमण मुक्त भए संगै दुबै जना आज भरतपुर अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालबाट डिस्चार्ज हुने क्रममा संक्रमण जितेका बृद्धले आत्मबल बलियो बनाएकै कारण कोरोना जित्न सफल भएको बताए । कोरोना जित्नका लागि मनोवल घटाउन नहुने भन्दै उनले क्यान्सर हुँदा हुँदै कोरोना संक्रमण भए पनि आँफुले जित्न सफल हुनुमा अस्पतालका चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीहरुको हात रहेको बताए ।
उनले कोरोनासँगको संघर्षमा आफु बिजयी भएको भन्दै खुशी ब्यक्त गरे । उनले भने “यो उमेरमा आएर पनि मैले क्यान्सर र कोरोनासँग लडे, आज कोरोनासँगको सँघर्षमा पनि बिजयी भएको छु ।” उनले थपे “डाक्टर साबहरुले मलाई यति राम्रो संग सम्झाउने र रेखदेख गर्ने गर्नुभयो की जसका कारण मैले कोरोनालाई जित्न सकें । यसका लागि अस्पताल परिवार प्रति आभार भन्न चाहन्छु । ”
अस्पतालबाट घर पठाउने क्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले अब १४ दिन सम्म घरमानै बस्न र त्यस्तो समस्या भए अस्पतालमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।
उनीहरुले संक्रमण देखिएको २९ दिनको दिन कोरोना जित्न सफल हुनु भएका हुन । जेष्ठ ३ गते भारतबाट आएका वृद्ध दम्पती र उनीहरुको छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा क्यान्सरको उपचार गराएर आएका बर्षीय पुरुष र उनी सँगै गएका श्रीमती र छोराको जेष्ठ ८ गते स्वाब संकलन गरी भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो ।
९ गते भरतपुर अस्पतालले दुई जना (श्रीमान, श्रीमती) मा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । सो क्रममा छोराको रिपोर्ट भने नेगेटिभ आएको थियो । छोराको रिपोर्ट नेगेटिभ आए पनि शंकास्पद देखिएपछी पुनः परीक्षण गर्दा संक्रमण भएको पुष्टि भएको थियो । संक्रमित छोरा भने यस अघी नै निको भएर घर फर्किसकेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !