चितवनः ईच्छाकामना गाउँपालिकाले बिपन्न परिवारलाई अनुदानमा स्थानीय कुखुराको चल्ला बितरण गर्ने भएको छ । त्यस क्षेत्रका पर्यटकीय गन्तव्यमा आउने पर्यटकलाई नयाँ स्वाद दिलाउने उद्देश्यले स्थानीयलाई चल्ला बितरण गर्न लागिएको हो ।
गाउँपालिका अध्यक्ष गिता गुरुङ्ले आईतबार एक साताको सूचना प्रकाशित गरि बिपन्न परिवारहरुलाई सम्पर्कमा आउन आव्हान गरिएको जानकारी दिनुभयो । उनीहरुलाई स्थानीय जातको कुखुराको चल्ला खरिदमा ७५ प्रतिशत अनुदान दिईने छ ।
उनीहरुसंग भएको खोर र पाल्न सक्ने क्षमताको आधारमा कम्तिमा २० वटा चल्ला दिईने बताउनुभयो । क्षमता भएमा संख्या थप गर्न सकिने उहाँको भनाई छ । के कती निवेदन आउँछ त्यसका आधारमा बितरण थालिने छ । गुरुङ्ले तीन सय परिवार जतिलाई चल्ला बितरण गर्ने लक्ष्य राखिएको बताउनुभयो । यसले उनीहरुको जीवनस्तर उकास्न र पर्यटकहरुलाई नयाँ स्वाद दिन सकिने उहाँको भनाई छ ।
ईच्छाकामनामा ईच्छाकामना मन्दीर, सिराईचुली, उपरदाङ्गढी, लामो झरना जान र घुम्न पर्यटकहरु आउने गर्दछन् । त्यस क्षेत्रका बासिन्दा र होम स्टे भएका हात्तीवाङ्, मायाँटार, चोकडाङ्, सराथोक, साथीमुढे लगाएतका क्षेत्रमा बसोबास गर्ने बिपन्न परिवारलाई चल्ला बितरणको प्राथमिकतामा राखिएको छ ।
पछिल्लो समय स्थानीय जातका कुखुराको माग वढ्दै गएको छ । गाउँ घुम्न जाने जो कोहीको ईच्छा स्थानीय कुखुरा खाने हुने गर्दछ । गाउँपालिकाले थोरै लगानीमा बिपन्नलाई सहयोग पु¥याउन यस कार्यक्रम प्रभावकारी हुने ठानेको छ ।