
चितवनः कोरोना भाईरस (कोभिड–१९)को संक्रमण बढिरहेको समयमा यहाँ रहेको चितवन मेडिकल कलेजले स्थापना गरेको पिसिआर परिक्षण प्रयोगशाला सरकारलाई दिन तयार रहेको जनाएको छ । बिगत एक बर्ष देखि काम थालेर हाल प्रयोगशाला संञ्चालनको तयारी अबस्थामा पुगेको छ ।
कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले आँफुहरु संग जनशक्ति र प्रयोगशाला तयारी भएको भन्दै सरकारलाई दिन तयार रहेको पत्र दिई सकेको बताउनुभयो । उहाँका अनुसार केही दिन अघि स्वास्थ्य मन्त्रालयलाई कलेजले आँफुहरु प्रयोगशाला दिन तयार रहेको पत्र पठाएको छ ।
न्यौपानेका अनुसार कलेजमा प्रयोगशालामा काम गर्न सक्ने सात जना अनुभबि जनशक्ति रहेका छन् । त्यही कलेजका जनशक्तिले भरतपुर कोभिड–१९ प्रयोगशाला सुरुवातीमा काम गरेका थिए । हाल पनि कलेजकै दुई जना जनशक्ति प्रयोगशालामा रहेका छन् । न्यौपानेले अहिलेको संकटको समयमा सामाजिक उत्तरदायीत्व वहन गर्दै सरकारलाई सहयोग गर्ने प्रस्ताब आँफुले गरेको जानकारी दिनुभयो ।
कलेजले अनुमती पाएमा परिक्षण गर्न सक्ने भए पनि सरकारी तवरबाटै प्रयोगशाला संञ्चालन गर्न उपयुक्त हुने आफ्नो सुझाब रहेको उहाँले बताउनुभयो । यस प्रयोगशालामा दैनिक २ सय भन्दा वढी नमुनाको परिक्षण गर्न सकीने उहाँको भनाई छ । त्यहाँ लाग्ने खर्च सरकारी तवरबाट गरेर काम गरेमा अहिले पालो कुरेर राखिएका नमुनाहरुको समयमा परिक्षण गर्न सकीने देखिएको छ । भरतपुर कोभिड १९ प्रयोगशाला स्थापनामा न्यौपानेको सक्रिय भूमिका रहेको थियो । उहाँले तत्कालिन समयमा पनि मेडीकल कलेजमा प्रयोगशालाका लागि ठाउँ दिन तयार रहेका जनाउनु भएको थियो ।
हाल भरतपुर अस्पतालले संञ्चालन गरेको प्रयोगशालामा चितवन, मकवानपुर, नवलपुर र कपिलवस्तुका नमुना परिक्षण भईरहेको छ । यस मेडीकल कलेजले निजी क्षेत्रबाट कोभिड १९ नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कोभिड क्लिनीकमा दैनिक ५÷६ जना बिरामी हेर्दै आएको जनाएको छ । यहाँ संञ्चालनमा आएको भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा २० वटा शैया लगाएतका उपकरण र जनशक्ति चितवन मेडीकल कलेजले सहयोग गरेको छ ।