चितवनः लकडाउनका कारण लामो समयदेखि बन्द भएको नारायणगढको फलफुल तथा तरकारी बजार भोलि (शुक्रबार) देखि खुल्नेछन् । । भरतपुर महागनरपालिका, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई चितवन, कृषि ज्ञान केन्द्र, महानगर फलफुल तथा थोक बजार समिति र टोल विकास संस्था बिचको संयुक्त बैठकले आजदेखि फलफुल तथा तरकारी बजार खोल्ने सहमति भए संगै वजार संञ्चालनमा आएको हो ।

बुधवार भरतपुर महानगरपालिकामा भएको बैठकले विहान ६ बजेदेखि बेलुका ४ बजेसम्म फलफुल तथा तरकारी बजार खोल्ने सहमति गरेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई चितवनका सुचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो । पहिलो चरणमा महानगर फलफुल तथा तरकारी बजारका होलसेल पसलमात्र खुल्ने छन् । यी पसलहरुले स्वदेशी उत्पादन मात्र बिक्रि गर्नुपर्ने नियम बनाईएको छ । महानगर फलफुल तथा तरकारी बजारमा ६० वटा होलसेल पसल रहेका छन् । फलफुल तथा तरकारी बजारमा तत्कालका लागि खुद्रा बेच्न भने रोक लगाइएको छ ।

सरोकारवाला बिच सहमति भएपछि व्यवसायीसंग छलफल गरेर शुक्रवारदेखि बजार खोल्ने तयारी महानगर फलफूल तथा तरकारी बजार क्षेत्रपुरले गरेको छ । जिल्लाकै ठूलो तरकारी बजार चैत १८ गतेदेखि बन्द रहेको थियो । उत्पादित तरकारी बजारसम्म पु¥याउन नसक्दा किसानहरु समस्यामा पर्दै आएका छन् । बजार खुल्ने भएपछि किसानहरु केही राहतको महशुस गरेका छन् । यसअघि पनि किसानहरुले भौतिक दुरी कायम राखेर प्रशासनलाई मण्डी खोल्नका लागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए । जिल्लाकै ठुलो तरकारी बजार खुल्न नसक्दा लकडाउनको समयमा किसानहरुले बाहिरी जिल्लामा विक्रि गर्दै आएका छन् ।
भारतीय तरकारी बोकेका गाडी मण्डीका ब्यापारीले ल्याउन थालेपछि जिल्ला प्रशासन कार्यालयले फलफुल तथा तरकारी बजार बन्द गराको थियो । कोरोनाको संक्रमण फैलिन थालेपछि स्थानीयबासीले समेत तरकारी बजार बन्द गराउन दबाब दिएका थिए । अहिले पनि भारत तथा अन्य मुलकबाट तरकारी तथा फलफुल ल्याउन भने बन्देज गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !