चितवनः यहाँ रहेको बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरुवाको अबस्था दयानीय वन्दै गएको छ । अस्पतालको कुरुवा घर भरिएको र स्थानीय स्तरमा रहेका होटलहरु वन्द भए पछि खुल्ला आकासमा रात बिताउनुपर्ने बाध्यता उनीहरुको रहेको छ ।
अस्पतालको तथ्याङ्क अनुसार अस्पताल भन्दा वाहिर रहेका बिरामीको संख्या एक सय हाराहारी रहेको छ । उनीहरु मध्ये अधिकांशले अस्पतालकै खालि चौरमा खाना पकाउने र वरण्डा, प्यासेजहरुमा बिरामी सहित रातको समयमा ओत लगाउने गरेका छन् ।
सिराहाबाट बिरामी बुबा लिएर उपचारका लागि बैशाख २२ गते क्यान्सर अस्पताल आई पुग्नु भएका सुरेश कुमार यादब त्यस यता खुल्ला आकास मुनि खाना खानु र बिरामीको रेखदेख गर्दै आउनु भएको छ । उहाँले गुनासो गर्नुभयोे “न उपचार नै पाईएको छ । न त वस्न र खानको लागि कतै ठाउँनै छ ।”

“अस्पतालमा आएर उपचार गरेर घर फर्कने समय हुँदा सम्म अस्पतालले भर्ना गर्न मानेको छैन” उहाँले दुखेसो पोख्नुभयो । अस्पताल आएको केही दिन अस्पताल भित्रै रहेको चमेना गृहमा खाना खाएको भए पनि पछिल्लो समय त्यहाँ पनि खाना खानको लागि सहज वातावरण नवनेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “अस्पतालमा उपचारका लागि भर्ना गरेका बिरामीलाई मात्र भवनमा पस्न दिईएको छ अरुलाई वाहीरनै राखिएको छ ।” उहाँले थप्नुभयो “बिरामी भर्ना गरेकालाई पास देखाएर भित्र जान दिईएको छ अन्य खुल्ला आकाशमुनी बस्न बाध्य छौ ।”

यस्तै सर्लाहीबाट मामाको उपचारका लागि आउनु भएका रमित कपाड उपचारका लागि समय लाग्ने भए पनि गास र बासको व्यवस्था गरिदिन आग्रह गर्नुहुन्छ । चौरमा बसेर खाना खाँदै गर्नु भएका उहाँ बिरामीको भर्ना गर्न समेत कठिन भएको बताउनुहुन्छ । “फर्किउँ अस्पताल आएर उपचार नगरि कसरी फर्किउँ बसौ बस्न, खानलाई ठाउँ छैन”उहाँले भन्नुभयो । पानी पर्दा कहाँ बस्ने कहाँ के खाने झन ठूलो समस्या हुने उहाँको भनाई छ ।
पर्साबाट बिरामी श्रीमति लिएर उपचारका लागि आउनु भएका गौरीशंकर यादब अस्पतालमा आएर झन दुःख पाएको बताउनुहुन्छ । अस्पतालले उपचारका लागि बैशाख ८ गते वोलाएको भए पनि आउँदा उपचार पाउन नसकेको उहाँको गुनसो छ । उहाँले भन्नुभयो “उपचारका लागि समय लाग्ने भए पनि वस्न र खानका लागि आकाशको छानो वनाउनु परेको छ ।” रातको समय पनि खुल्ला चौरमानै बिरामी लिएर बस्नुपर्ने कस्तो समय आयो उहाँले दुखेसो गर्नुभयो ।

कञ्चनपुरबाट बिरामी लिएर आउनु भएका कान्छाराम चौधरी बिगत १० दिन देखि चौरमानै बास भएको बताउनुहुन्छ । सुरुवातको समयमा अस्पतालको पेटिमा सुत्न सम्म पाईएको भए पनि अहिले त्यहाँ पनि जान दिदैनन उहाँले भन्नुभयो । चौधरीले भन्नुभयो “बिरामीलाई उपचारका लागि आँफुहरु आएको भए पनि न उपचार समयमा पाईएको छ न खान बस्ननै ।” फर्कनका लागि कसरी फर्कनु न सवारी साधन नै चलेका छन् उहाँले गुनासो पोख्नुभयो ।
लाहानबाट बिरामी लिएर आउनु भएकी संगिता चौधरी अस्पताल भित्र संञ्चालनमा रहेको चमेना गृहमा समेत हेर्ने दृष्टिकोण फरक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “पैसा तिरेर खान्छौ भन्दा पनि राम्रो व्यवहार छैन । अहिले त त्यहाँ अस्पतालका कर्मचारी र भर्ना गरेर राखिएका बिरामीलाई मात्र पस्न दिईने गरेको छ ।” बिरामीको उपचार प्रकृया सुरु भएमा मात्रै पनि कुरुवा जसरी पनि बस्न सकिन्थ्यो उहाँको गुनासो छ । अहिले दिनहुँ जसो पानी पर्दा खुल्ला आकासमुनी खाना वनाउन समेत उनीहरुलाई समस्या भएको छ ।
कोरोना भाईरस कोभिड १९ को संक्रमणका कारण देशनै आक्रान्त वनिरहेको समयमा उपचारका क्रममा आएका बिरामी र उनीहरुको कुरुवाको अबस्था दयानीय वन्दै गएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम आबश्यक हुनेलाई मात्र भर्ना लिईएको बताउनुहुन्छ । अस्पतालमा आज १ सय ३३ जना बिरामी भर्ना भएको र एक सय हाराहारी बाहिर रहेको उहाँले बताउनुभयो ।

५० जना बिरामी राख्न मिल्ने कुरुवा घर भरिएको र बाहिर होटल रेष्टुरेन्ट वन्द भएपछि बिरामी र कुरुवाका आफन्त बाहीर खान र बस्न बाध्य भएको उहाँले बताउनुभयो । दैनिक अस्पतालमा देशका बिभिन्न ठाउँबाट बिरामी लिएर पचास हाराहारी एम्बुलेन्स आउने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले त्यहाँ बिरामी र कुरुवाको अबस्था दयानीय देखिएको बताउनुभयो । आँफुले अस्पताल भित्र रहेका खालि भवन वा अस्थायी टहरा निर्माण गरेर भए पनि उनीहरुको व्यवस्थापन गर्न निर्देशन दिएको बताउनुभयो । ७६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरि बिरामीसंग एक जना आफन्त मात्र पठाउन अनुरोध समेत गरेको भट्टराईले जानकारी दिनुभयो । सामान्यतया तीन साताको फरकमा क्यान्सरका बिरामीलाई केमो दिने गरिन्छ । टाढाबाट आएका बिरामी जान आउन कठिन भएकाले त्यही बाहिर बसेर कुर्ने गरेको पाईएको छ । यसैगरी केही बिभागमा बहिरंग सेवा नियमित नहुँदा र बिरामीको परिक्षणका नतिजा आउन ढिलाई गर्दा पनि कुर्ने बिरामीको संख्या थपिएको हो ।
वि.सं.२०५७ सालबाट संञ्चालमा आएको यस अस्पतालमा नेपाल र भारतका सिमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्दछन् । यस अस्पतालले बार्षिक १० हजार हाराहारी बिरामीको उपचार गर्दै आएको छ ।






