काठमाडौंः आगामी आवको बजेट भाषणमार्फत् भन्सार दर बढ्ने सम्भावित वस्तु धमाधम जाँचपास भइरहेको छ । बजेट भाषणअघि नै तिनलाई जाँचपास गरिसक्ने योजनामा व्यवसायी छन् ।

यो विगतदेखि कै अभ्यास हो । जहाँ व्यवसायीहरू भन्सार बढ्ने हल्ला चलेका वस्तु बजेट भाषणअघि नै आयात गरिसक्छन् । अनि ‘करको दर बढ्यो’ भनेर बजेट भाषणको भोलिपल्टैदेखि नयाँ मूल्यसूची सार्वजनिक गर्छन् । कमजोर अनुगमन व्यवस्थाको लाभ व्यवसायीले उठाउँछन् । जसबाट व्यवसायी नाफामा मात्रै छैनन्, उपभोक्ता बढी मूल्य तिर्न बाध्य छन् ।

यस्तो अभ्यास विशेषगरी सवारीसाधन र मदिरामा हुन्छ । आयात गर्दा लगात बढेको भन्दै मौज्दातमा रहेको सबै वस्तुमा भोलिपल्टैदेखि नयाँ ट्याग लगाइन्छ । उपभोक्ता सोही मूल्य तिर्न बाध्य छन् ।

आगामी आवको बजेटमा यस्ता वस्तुको आयात कडाइ गर्न सरकारले भन्सारदर बढाउने भन्ने हल्ला चलिरहेको छ । विगत केही दिनभित्रमा यता वीरगन्जस्थित सुक्खा बन्दरगाह, सिर्सियाबाट मदिराको १० देखि १२ वटा कन्साइनमेन्ट जाँचपास भइसकेका छन् । गाडीतर्फ पनि १ सय २० वटा इलेक्ट्रिक गाडी जाँचपास भइसकेको छन्, अरू पनि भन्सारबाट छुट्ने क्रममा छन् ।

बन्दरगाहस्थित भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बाह्रखरीसँग भने, “पछिल्लो समय आयात बढेको छ । आयातका क्रममा रहेका वस्तुमध्ये केही विशेष कन्साइमेन्ट छन् । जुन लामो समयदेखि भन्सार विन्दुमा होल्ड भएका थिए ।” विशेषगरी मदिरा र सवारीसाधनका कन्साइनमेन्ट जाँचपास हुने क्रम बढेको उनको भनाइ छ ।

श्रेष्ठले भने, “प्रत्येक वर्ष यस्तो हुन्छ । बजेट भाषणअगाडि आयात बढ्छ । यो अवधि अधिक मदिरा आयात हुने बेला हो ।” यस वर्षको परिवेश पनि विगत झैं रहेको उनको दाबी छ ।

श्रेष्ठको यही भनाइलाई आधार मान्दा भन्सारको दर बढ्ने आकलनमा बजेट भाषणपूर्व नै सामान आयात गर्न सकियो भने लागत कम हुने सोच व्यवसायीमा रहेर भन्सार छुटाउन लाग्ने गरेको स्पष्ट हुन्छ । यसको फाइदा छ, “कम भन्सार दरमा सामान भित्र्याउन पाइयो । तोकिएभन्दा धेरै मूल्यमा बेच्न पाइयो । नाफा बढ्ने भयो ।”

प्रतिक्रिया दिनुहोस !