स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस पुष्टि हुने व्यक्तिको सङ्ख्या ५०७ पुगेको जनाएको छ।
शुक्रवार अपराह्ण मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणबाट थप २० व्यक्तिमा कोभिड-१९ देखिएको बताए।
यसअघि शुक्रवार बिहान मन्त्रालयले ३० जनामा कोभिड-१९ पुष्टि भएको बताएको थियो।
उनका अनुसार बाँकेमा २१ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट बिदा भएका छन्। अब निको हुनेको सङ्ख्या ७० पुगेको छ।
अहिलेसम्म सबै प्रदेश र ४० वटा जिल्लामा कोभिड-१९ भेटिएको छ।
सर्वाधिक सङ्क्रमित प्रदेश नं ५ र २ मा छन्।
डा. देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ४२,४८८ वटा परीक्षण गरिएको छ।
मन्त्रालयका अनुसार अहिले देशभरि २७,८२९ जना क्वारन्टीनमा र सङ्क्रमित तथा सम्भावित सङ्क्रमितसहित ४३३ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।
प्रदेश नं ५ मा अहिले १५,९९९ जना क्वारन्टीनमा छन्। त्यसैगरी प्रदेश नं २ मा ५,९०६ जना र सुदूरपश्चिम प्रदेशमा २,६२९ जना छन्।