
चितवनमा कोरोना संक्रमण पुष्टि भएका वृद्ध दम्पत्ती बस्दै आएको घरमा वरपर(केशरबाघ)का क्षेत्रलाई सिल गरिएको छ । संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा पुगेर स्थानीयलाई सचेत गराएको भरतपुर-६ का वडाध्यक्ष हरिविलास कोइरालाले बताए ।
कोइरालाका अनुसार वृद्ध दम्पत्ती बस्दै आएको घरमा सात जना रहँदै आएका थिए । भारतबाट फर्किएर होम क्वारेन्टिनमा बसेका यी दम्पत्तीसँगै एक जना छोराको पनि कोरोना परीक्षण गरिएको थियो । उनको भने नेगेटिभ रिपोर्ट आएको छ ।
कोइरालाकाअनुसार सोही घरमा रहेका अर्का छोरा, बुहारी र नातिहरुको भने परीक्षण गरिएको छैन । संक्रमित र एक छोरा भारतबाट फर्किए लगत्तै घरको उपल्लो तल्लामा बसेका थिए । अन्य सबै तल्लो तल्लामा रहँदै आएका थिए । संक्रमितको एक जना छोरा बाहेक कसैसँग सम्पर्क नभएको जानकारी प्राप्त भएको भन्दै वडाध्यक्ष कोइरालाले डराउनुपर्ने अवस्था भने नरहेको बताए । “एउटै घरमा बसेको भएपनि उनीहरुका बीचमा सम्पर्क नै नभएको रहेछ”, उनले भने, “समयमै सचेत भएको पाइयो ।”
यद्यपी उक्त क्षेत्रका स्थानीयलाई थप सचेत हुन आग्रह गरिएको उनले बताए ।