काठमाडौंः महानगरीय वृत्त कालीमाटीमा कार्यरत प्रहरीमा कोरोना देखिएपछि नयाँ बानेश्वर क्षेत्रमा रहेका दुई घर सिल गरिएको छ । संक्रमित प्रहरी डेरामा बस्दै आएको घर र सोही घरसँगै जोडिएको अर्को घर सिल गरिएको हो ।
गएराति कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको थियो । तीमध्ये एकजना श्रीमतीसहित नयाँ बानेश्वरमा डेरामा बस्दै आएका थिए । एक प्रहरी अधिकारीका अनुसार बानेश्वरमा हाइटमा रहेका दुई घरमा सिल गरिएको छ ।
ती घरमा बस्दै आएका सबैलाई घरबाहिर ननिस्कन र ‘सेल्फ’ क्वारेन्टाइनमा बस्न भनिएको छ । संक्रमित प्रहरी ड्युटी सकेपछि डेरामै आउने गरेका थिए । संक्रमण देखिएका दुवै प्रहरीको बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोविड–१९ अस्पतालमा उपचार भइरहेको छ ।