चितवनः माडी नगरपालिकाले भारत र तेस्रो मुलुकबाट आउने आफ्ना नगरवासीको कोरोना भाईरस परिक्षणका लागि आबश्यक पर्ने किट आँफै खरिद गर्ने भएको छ । नगरपालिकाको बिपत व्यवस्थापन कोषबाट किट खरिदका लागि रु १० लाख विनियोजन गर्ने निर्णय गरेको छ ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार माडी स्थायी घर भई चार हजार दुई सय हाराहारी बिदेशमा रहेका छन् । जस मध्ये दुई हजार सात सय भारतमा छन् । ढकालले तत्काल २५ प्रतिशत आए पनि राख्नका लागि ११ वटा क्वारेन्टाईन व्यवस्था गरिसकेको बताउनुभयो । माडीमा ९ वटा वडा रहेका छन् ।
सबै वडामा एक–एक वटा र थप दुई वटा क्वारेन्टाईन तयार गरेको उहाँले बताउनुभयो । एउटा क्वारेन्टाईनमा एक सय जना राख्न मिल्ने गरि व्यवस्था गरिएको छ । विदेशबाट आएकाहरुलाई १४ दिन क्वारेन्टाईनमा राखेर स्वाब मार्फत कोरोना भाईरसको पिसिआर परिक्षण गरि नेगेटिभ देखिएमा १७ दिनममा घर पठाउने ढकालको भनाई छ ।
पिसिआर परिक्षणका लागि भरतपुर कोभिड १९ प्रयोगशाला संग कुराकानी भईसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “प्रयोगशालाममा पनि किटको अभाव देखिएकाले बाहिरबाट आउनेहरुका लागि किट हामी आँफै किन्दैछौ ।” रकम नपुगे थप गरेर भए पनि किट खरिद गर्ने उहाँले बताउनुभयो । ढकालले भारतको मुम्वईबाट आएका २४ जनालाई ठोरी नाकाबाट फिर्ता गरिएकोमा आज साँझ सम्ममा प्रबेश गर्न दिने आश्वासन प्राप्त भएको बताउनुभयो । ठोरी नाकामा समस्या देखिएको भन्दै उहाँले अब भारतबाट आउनेहरुलाई भैरवाको बाटो हुँदै ल्याईने बताउनुभयो ।