काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शिशु र थप तीन जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नागेन्द्र झाले कोरोना संक्रमण देखिएर मृत्यु भएकी महिलाको नवजात शिशु (छोरा), श्रीमान्, सासू र अस्पतालसम्म ल्याउन सहयोग गर्ने एक आफन्तलाई अस्पतालको आइसोलेसनमा राखिएको बताउनुभयो । उहाँले शनिबार बेलुका ती चारैजनाको नमुना संकलन गरिएको छ । अहिले परीक्षणको क्रममा रहेको उहाँले जानकारी दिनुभयो । उनका अनुसार आज बेलुकासम्ममा त्यसको रिपोर्ट आउनेछ । “सात चिकित्सक र नर्सलाई क्वारेन्टाइनमा राखिएको छ,” उहाँले भन्नुभयो ।
ती महिला गत २४ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । अस्पतालले २५ वैशाखमा डिस्चार्ज गरेपछि एम्बुलेन्समार्फत उनलाई सिन्धुपाल्चोकको राम्चे पुयाइएको थियो । तर जेठ १ गते ज्वरो र श्वासप्रश्वासलगायत समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बनेपछि धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।

ती महिलाको कोरोनाको लक्षण मिलेको पाएपछि धुलिखेल अस्पतालले आरडीटी र पीसीआर परीक्षण गरेको थियो । सो क्रममा दुईवटा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः परीक्षणका लागि स्वाब टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

त्यहाँ पनि रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण भएको पुष्टि भएपछि चिकित्सक र सुरक्षाकर्मीको विशेष टोलीले शनिबार राति नै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !