काठमाडौंः काठमाडौंका मूल सडक र भित्रि सडकमा भीडभाड गरे अब प्रहरीले पक्राउ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गर्दै सडकमा ननिस्कन र निस्किए पक्राउ गर्ने जानकारी गराएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत मानबहादुर बुढाले जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको जानकारी दिनुभयो । “काठमाडौंको मूल सडक,भित्रि सडक तथा गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको अनावश्यक भीडभाड हुने गरेको पाइएकाले त्यसो नगर्नुहुन अनुरोध छ । अन्यथा सुरक्षाकर्मीहरुले प्रचलित कानूनबमोजिम कारवाहीका लागि नियन्त्रणमा लिन सक्नेछ,” सूचनामा उल्लेख छ ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालयले यसअघि जारी गरेको सम्पूर्ण सवारी पास खारेज पनि गरेको छ । निर्माण सामग्री बोकेका सवारी साधनलाई बेलुकी ८ बजेदेखि विहान ६ बजेभित्र मात्र सञ्चालन गर्न पनि सूचित गरिएको छ ।