चितवनः कालोबजारी गर्ने प्रति स्थानीय प्रशासन निर्मम रुपमा प्रस्तुत हुन थालेको छ । लकडाउनको मौका छोपि कालोवजारी गरेको अभियोगमा यहाँको भाटभटेनी सुपर मार्केटलाई स्थानीय प्रशासनले रु १ हजार जरिवाना र एक महिना कैदको सजाय सुनाएको छ । उपभोक्ताको गुनासो पछि प्रशासनले गरेको अनुगमनका क्रममा भाटभटेनीले प्रचलित मूल्य भन्दा वढिमा सामाग्री वेचेको भेटिएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाका अनुसार तरकारीमा वजारको प्रचलित मूल्य भन्दा वढिमा बिक्रि गरेको पाईए पछि भाटभटेनीलाई कारवाही गरीएको हो । भाटभटेनीका तर्फबाट भरतपुरका व्यवस्थापक जमुना गुरुङ्लाई सो सजाय सुनाईएको थियो । निज गुरुङ्ले कैद वरावरको जरिवाना रकम तिरेर छुटेको उहाँले जानकारी दिनुभयो । यसैगरि रत्ननगरमा रहेको पौडेल पुस्तक महलका संञ्चालक हरिनारायण उपाध्यायलाई वढि मूल्यामा पुस्तक वेचे पछि एक महिना कैद र रु १ हजार जरिवाना गरिएको छ । निजले पनि कैद वापतको जरिवाना तिरी रिहा भएको प्रशासनले जनाएको छ ।
यस्तै महंगो मूल्यमा फलफुल बिक्रि गर्ने चार व्यवसायीलाई कारवाही गरिएको छ । कारवाहीमा पर्नेमा काठमाडौं फ्रुड्स र आचार्य फ्रुड्स नारायणगढलाई रु २५÷२५ हजार र हिमालय फ्रुड्स तथा सुभम फ्रुड्सलाई रु १०÷१० हजार धरौटि तोकिएको उहाँले जानकारी दिनुभयो । वजार अनुगमनका क्रममा उनीहरुले उपभोक्तालाई बजार मूल्य भन्दा महंगो मूल्यमा बिक्रि गरेको पाईए पछि धरौटी तोकी तारेखमा छाडीएको सिंखडाले वताउनुभयो ।
उनीहरुलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(५) बमोजिम कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । लकडाउनको मौका छोपि महंगोमा सामान बिक्रि गर्नेलाई स्थानीय प्रशासनले कडाईका साथ अनुगमन गर्ने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !