चितवन – किराना व्यवसायी संघ चितवनले गरीब तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनको कारण समस्यामा परेकाहरुलाई मध्यानजर गर्दै संघले खाद्यान्न सहयोग गरेको हो ।

संघले उद्योग वाणिज्य संघ चितवनमार्फत गरीब तथा विपन्न परिवारलाई एक लाख ५ हजार बराबरको खाद्यान्न सहयोग गरेको हो । उक्त खाद्यान्न संघका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले उवासंघ चितवनका अध्यक्ष राजु श्रेष्ठलाई हस्तान्तरण गरे ।

लकडाउनको कारण दैनिक मजदुरी गर्ने परिवार समस्यामा परेकोले राहत स्वरुप खाद्यान्न सहयोग गरिएको किराना व्यवसायी संघ चितवनका अध्यक्ष श्रेष्ठले बताए । उनले मजदुरी गर्ने परिवारलाई खानाको समस्या नहोस् भन्नका लागि संघले सहयोग गरेको बताए ।

संघले आज नै जिल्ला प्रहरी कार्यालय चितवनलाई पनि केही खाद्य सामाग्री सहयोग गरेको छ । चितवनका प्रहरी प्रमुख नान्तिराज गुरुङमार्फत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई चाउचाउ, बिस्कुट लगायतको सामाग्री सहयोग गरेको हो । यस्तै संघले सिमा सुरक्षा बल आँपटारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र वडा प्रहरी कार्यालय नारायणगढलाई पनि चाउचाउ, बिस्कुट लगायतको सामाग्री सहयोग गरेको छ ।

संघका उपाध्यक्ष टेक प्रसाद पनेरु, द्दितिय उपाध्यक्ष पुष्प कुमार श्रेष्ठ, महासचिव हरिराज पौडेल, कोषाध्यक्ष बालकृष्ण श्रेष्ठलगायत कार्यसमिति सदस्यहरुको उपस्थितीमा सिमा सुरक्षा बल आँपटारी प्रमुख एसपी खेम थापा, ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक कृष्णजि ठकुरी र वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीमार्फत उक्त सामाग्री सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस !