
काठमाडौंः सरकारले कम्तीमा एकसाता लकडाउन कायम राख्ने तयारी गरेको छ । अहिलेसम्म सङ्क्रमित फेला नपरेका (ग्रिन जोन) जिल्लाहरूमा भने अवस्था हेर आवतजावत गर्न दिइने र आर्थिक क्रियाकलाप पनि गर्न दिइने सरकारको तयारी छ ।
“लकडाउन त कायम नै रहन्छ । सङ्क्रमित फेला नपरेका र सङ्क्रमण हुन खोजेका जिल्लाहरूमा खुकुलो बनाउने तयारी भइरहेको छ । यसबारेमा आज हामी उच्चस्तरीय समन्वयन समितिको बैठक बसेर थप मोडालिटी तय गर्छौँ,” कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले बताउनुभयो।
पोखरेलले सीमा अनिश्चितकालसम्म सीलबन्दी नै रहने जानकारी दिनुभयो । भारतको सङ्क्रमण र मुलुकमै पनि सङ्क्रमित फेला पार्ने क्रम नरोकिएकोले सिमानामा कडाइ अत्यावश्यक भएको उहाँको ठहर छ ।
“भारतमा सङ्क्रमित दर बढेको बढ्छै छ । त्यसैले पनि भारततर्फ आउने र जाने विन्दुमा झन् कडाइ नगरे सङ्क्रमण रोक्न सकिँदैन भन्ने हाम्रो निष्कर्ष छ । सिमाना लामैसमयसम्म बन्द छ,” उहाँको भनाइछ ।
उहाँले हवाइ उडान पनि तत्काल नखोलिने सङ्केत गर्नुभयो । “यो सबै सङ्क्रमणको अवस्थाले निर्धारण गर्ने कुरा हो,” उहाँ भन्न्नुहुन्छ ।
सोमबार उच्चस्तरीय समन्वय समितिसहित सीमसीको पनि बैठक बसेको थियो । त्यसमा तीनथरी सुझाव आएका थिए । स्वास्थ्यमन्त्रालयले हरियो, पहेँलो, रातो क्षेत्र छुट्टयाउने र त्यही अनुसार लकडाउनको मोडालिटी बदल्ने सुझाव दिएको थियो । रातो रङ लागेका क्षेत्रमा लकडाउन कायम राख्ने, पहेंलो र हरियो देखिएका क्षेत्र खुकुलो राख्ने स्वास्थ्य मन्त्रालयको सुझाव थियो । अर्थ मन्त्रालयले अर्थतन्त्र सङ्कटबाट जोगाउन आर्थिक गतिविधि गर्न दिनेगरी क्रमशः खुकुलो बनाउनुपर्ने सुझाव अघि सारेको थियो । सीएमसीले कतै खोल्ने, कतै कडा गर्ने गर्दा व्यवस्थापन गर्न गाह्रो हुने र सङ्क्रमण फैलने भय भएकाले लम्ब्याउने निष्कर्ष निकालेको थियो ।
आज बस्ने उच्चस्तरीय समितिले विस्तृतमा खाका तयार पार्ने र बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने पोखरेलले जानकारी दिनुभयो । नेपालमा हालसम्म ८२ जना सङ्क्रमित पुगेका छन् । नेपालगञ्जमा मङ्गलबार मात्रै ७ जना सङक्रमित थपिएका छन् । उदयपुरपछि नेपालगञ्ज उच्च जोखिमको क्षेत्र बनेको छ ।
अहिलेसम्म २१ हजार ५ सय २३ जना क्वारेन्टाइनमा छन् । १ सय ६ जना आइसोलेसनमा छन् भने १६ जना छन् । ८२ जना सङ्क्रमित फेला परेका मध्ये १६ जना निको भएर घर फर्किएका छन् ।