
चितवनः लकडाउन संगै बन्द भएका सौराहाका होटल दशैं अघि नखुल्ने भएका छन् । पारिवारीक तवरवाट चलेका साना होटल खुले पनि व्यवसायीक होटलहरु दशैमा मात्र खोल्ने तयारी गरिएको छ ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस भन्नका लागि होटल वन्द गर्ने बिषयमा व्यवसायीहरु सहमत भएका छन् । उहाँले भन्नुभयो “लकडाउन पछि तत्काल बिदेशी पर्यटक आउने कुरा भएन, स्वदेशी पनि खासै आउँदैनन् ।”होटल खुलेपछि दैनिक संञ्चालन खर्च धेरै हुने तर पर्यटक नआउने भएकाले तत्काल होटल संञ्चालन नगरिने उहाँले जानकारी दिनुभयो ।
संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार जेठको पहिलो साताबाट भदौ अन्तिम सम्मको समय अरु वेलामा पनि पर्यटक नआउने समय हो । त्यस पछिको समयमा हिमाल चढ्नका लागि बिदेशी पर्यटक आउने भए पनि यस बर्ष त्यो सम्भावना न्यून रहेको घिमिरेले बताउनुभयो । उहाँका अनुसार दशैं ताका आन्तरिक पर्यटकहरु आउने भएकाले सोही समयमा होटल खोल्ने तयारी गरिएको छ ।
दुई चार जना पाहुनाका लागि होटल खोल्दा संञ्चालन खर्च बढि हुने भएकाले त्यो सम्भावना नरहेको घिमिरे बताउनुहुन्छ । होटल व्यवसायीले चैत महिना सम्मको तलब दिएर कर्मचारीलाई विदा दिएका छन् । अब के गर्ने भन्ने बिषयमा केन्द्रिय हानको निर्णयको पर्खाइमा रहेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
चितवन र नवलपरासीमा १ सय ५० पर्यटकीय होटल छन् । ती होटलमा ५ हजार ५ सय भन्दा वढि कर्मचारी कार्यरत छन् । भट्टराईका अनुसार ती होटलमा रु १९ अर्ब ५० करोड भन्दा वढि बैंकीङ् ऋण रहेको छ । होटल खुलेको कम्तिमा एक वर्ष ऋणको किस्ता र व्याज बुझाउन नसकीने भन्दै उहाँले पुर्नकर्जा दिएर व्यवसाय संञ्चालन गर्न सहयोग गर्नुपर्ने बताउनुभयो । भट्टराईले कृषि सरह व्याजमा सहुलियत दिनु पर्ने माग अघि सारेको जानकारी दिनुभयो ।
यता मेघौलीको साराङ् वाईल्ड लाईफ सेन्चुरीका संञ्चालक सुवोध प्रधानले भने लकडाउन खुलेपछि होटल संञ्चालनमा ल्याउने तयारी गरिएको बताउनुभयो । थोरै कर्मचारीबाट सेवासुबिधा दिने गरि होटल खोल्ने तयारी आँफुले गरेको उहाँले बताउनुभयो । लकडाउनले घरमा बस्दा वाक्क भएका आन्तरिक पर्यटक आउने उहाँको अनुमान छ । यहाँ चितवन राष्ट्रिय निकुञ्ज भित्रका दुर्लभ वन्यजन्तु, थारु संस्कृति, डुङ्गा शयरका लागि स्वदेशी र बिदेशी पर्यटक आउने गर्दछन् ।