काठमाडौंः नेकपा सचिवालयको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने तय गरिएको छ ।
अपराह्न बैठकमा बस्नुअघि नेताहरु आन्तरिक छलफलमा छन् । प्रचण्डले बिहान खुमलटार निवासमा पूर्वमाओवादीका केही नेताहरुसँग परामर्श गरेका छन् ।

अध्यादेश प्रकरणपछि नेकपाभित्र उत्पन्न विवादको समाधान खोज्न यो बैठक निर्णायक हुने अनुमान छ । बैठकले सम्भवतः ‘बामदेव कार्ड‘ को छिनोफानोसमेत गर्ने छ ।

यसअघि गत बुधबार बसेको सचिवालय बैठकमा छलफल नसकिएपछि आज पुनः बस्ने निर्णय गरिएको थियो । बुधबारको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई भाबी प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए । यस्तै वरिष्ठ नेता माधव कुमार नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए ।

प्रचण्ड, माधव नेपाल र बामदेव समूह ओलीविरुद्ध एकजुट भइरहेको बेला यो प्रस्तावले नेकपाको आन्तरिक संघर्षमा नयाँ ट्वीस्ट ल्याएको थियो । त्यसपछि शुक्रबारसम्म प्रचण्ड–नेपाल पक्षबीच र आ–आफ्ना समूहबीच छुट्टै छलफल भएका थिए ।

पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ । तर, अध्यादेशको औचित्यबारे छलफल गर्न प्रचण्ड–नेपाल पक्षले पहिले सचिवालय बैठकपछि स्थायी कमिटी बैठक बोलाउन माग गर्दै आएका छन् । उनीहरुले ओलीको एकलौटी कार्यशैलीले सरकार अलोकप्रिय भएको भन्दै बाटो खुल्ला गरिदिन दबाब दिँदै आएका छन् ।

गत बुधबारयता आ–आफ्नो समूहमा छलफल गर्दै आएका उनीहरु शनिबारको सचिवालय बैठकमा कसरी प्रस्तुत हुन्छन्, त्यसले ओलीको भविष्य निश्चित गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !