
चितवनः लकडाउनका कारण मानिसहरु घरभित्रै सीमित भएका छन् । बजारसम्म जान नपाएको मानिस निकुञ्जसम्म पुग्ने त कल्पना नै भएन । मानवीय गतिविधि नभएपछि निकुञ्ज हराभरा भएको छ भने वन्यजन्तु प्रफुल्लित छन् ।
सामान्य अवस्थामा चितवन राष्ट्रिय निकुञ्जमा दैनिक एक हजारभन्दा बढी पर्यटक घुमफिर गर्दथे । निकुञ्जको बाटो हुँदै माडी लगायतका ठाउँमा मानिस ओहोरो दोहोर गर्दथे । लकडाउनसँगै मानवीय गतिविधि शुन्यजस्तै भए पछि निकुञ्ज भराभरा हुनुको साथै वन्यजन्तु रमाईरहेका हुन् । निकुञ्जमा अहिले सुरक्षागस्तीका बाहेक अन्य मानिस छिर्न पाएका छ्रैनन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती एउटा घाँसेमैदानमा ६ सय वटासम्म चित्तल, एउटै पोखरीमा १४ वटासम्म गैंडा, सौराहाबाट कसरासम्मको १७ किलोमिटर यात्रा गर्दा ३२ गैंडा देखिएको बताउनुहुन्छ । उहाँका अनुसार निकुञ्जको भिम्ले फाँटमा कर्मचारीले ६ सय वटा चित्तल गनेका थिए । काभ्रे तालमा पाँच दिन अघि रुपाखेती आफैले १४ वटा गैंडा देखेको बताउनुभयो । उहाँ आफै सौराहाको प्रवेशद्वारबाट कसरासम्म जाँदा ४ वटा बच्चासहित ३२ वटा गैंडा देख्नु भएको थियो । यो बाटो जीप सफारीको बाटो हो ।
उहाँले भन्नुभयो “एउटै फाँटमा ४२ वटा गौरीगाई पनि देखिएका छन् । मानवीय गतिविधि बन्द भएपछि निकुञ्जमा वन्यजन्तु स्वतन्त्र विचरण गरिरहेका छन् ।” चैत ११ गतेदेखि शुरु भएको लकडाउनसँगै निकुञ्ज प्रवेशमा रोक लगाईएको छ । यो समयमा नियमित जस्तै पानी परेर आगो नियन्त्रण भएको, माटोमा चिस्यान पुगेको र घाँसे मैदान व्यवस्थापन गरिएसँगै निकुञ्जका विभिन्न क्षेत्रमा पर्याप्त घाँस देख्न सकिन्छ । तिनै घाँसे मैदानमा वन्यजन्तु रमाउँदै विचरण गर्ने गरेको उहाँको भनाई छ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार दैनिक ७२ वटा जीप निकुञ्ज छिर्ने गर्दथे । जसले दैनिक एक हजारभन्दा बढी पर्यटक निकुञ्ज घुमाउन लैजाने गर्दथे । सौराहाबाट ३२, कसराबाट २५, अमलटारीबाट ५, मेघौलीबाट ९ र माडीबाट एउटा जीपलाई निकुञ्ज प्रवेश अनुमती छ । एउटा जीपमा १० जना पर्यटक बस्ने व्यवस्था हुन्छ । ती जीपले पर्यटक अनुसार दिनमा दुई तीन पटकसम्म निकुञ्ज जाने गर्दथे । उप्रेतीको भनाईमा निकुञ्ज हुँदै माडी, ठोरीका जनता ओहोर दोहोर गर्नेमा त्यो क्रम पनि अहिले न्यून छ ।
गत वर्ष चैत महिनामा २२ हजार ३२९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । वैशाखमा यो संख्या २२ हजार ६८७ थियो । तर यस वर्ष वैशाखमा शुन्य छ भने चैतको १० दिनमा ३ हजार ९०६ जनाले निकुञ्ज घुमेका थिए ।
निकुञ्ज हराभरा हुँदै गर्दा वर्षभरिको पर्यटकको संख्या भने न्यून हुने देखिएको छ । गतवर्ष १ लाख ८७ हजार १०९ जना पर्यटक निकुञ्ज छिरेकोमा यस वर्षको चैत १० गतेसम्म यो संख्या १ लाख ७० हजार ३२८ पुगेको थियो ।
संरक्षणकर्मी एवं जटायु रेष्टुरेण्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरी मानिसहरुको चहलपहल घटेसँगै निकुञ्जभित्र वन्यजन्तुको चहलपहल बढेको बताउनुहुन्छ । यो मौसम पालुवा पलाउने, फुलफुल्ने र जनावरले प्रजनन् गर्ने समय भएकाले उनीहरुका लागि निकै महत्वपूर्ण र खुशी हुने बेला भएको उहाँको भनाई छ । यसै बेला मानवीय गतिविधि शुन्य भएपछि वन्यजन्तु निकै रमाएको चौधरी बताउनुहुन्छ ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल लकडाउनले निकुञ्जभित्र नै पर्याप्त आहार पाएपछि वन्यजन्तु वस्ती नआएको बताउनुहुन्छ । मध्यवर्ती क्षेत्रमा आहारका लागि गैंडा, बँदेल, चित्तल आएर जनतालाई दुःख दिने गर्दथे । तर यो वर्ष ठूलो समस्या नभएको मल्लको भनाई छ ।
चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु बाघ र एक सिंगे गैंडाका लागि प्रख्यात छ । गैंडा, चित्तल, लघुना, गौरीगाई, बँदेल, भालुसँगै ठाउँठाउँमा बाघ समेत देखिने क्रम बढेको प्रमुख संरक्षण अधिकृत रुपाखेतीले बताउनुभयो ।